काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रिय निर्वाचन असोज १० र ११ गते गर्ने सहमति भएको छ। यसअघि असोज ३ र ४ गते गर्ने भनिएको निर्वाचन २१ दिने सूचना र छलफल बिना तय भएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले असन्तुष्टि जनाएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी), राखेप र स्वतन्त्र कमिटीका प्रतिनिधिसहित भएको छलफलबाट क्यान निर्वाचनको नयाँ मिति तय भएको हो। केन्द्रिय निर्वाचनमा प्रक्रियागत समस्या देखिएको भन्दै राखेपकै पहलमा विवाद समाधानका लागि आइसिसीका प्रतिनिधि बोलाइएको थियो।
आइसिसीका इमरान ख्वाजा र अमर शेखसहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसँग छलफल गरेका थिए। बैठकले क्यानको केन्द्रिय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादीत तरिकाले सम्पन्न हुने गरी अगाडि बढ्ने छलफल गरेको र सबै पक्षको सहमतिमा निर्वाचनको मिति तय भएको राखेप सदस्य सचिव सिलवालले बताएका छन्।
आइसिसीले नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै २०७३ साल वैशाखदेखि क्यानलाई निलम्बनमा राखेको छ । क्यानको निर्वाचन भए अक्टोबर १३ मा हुने आइसिसीको वार्षिक बैठकमार्फत नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा हुने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।