सन् २०३० को फिफा विश्वकप संयुक्त रुपमा आयोजना गर्न कोलम्बियाको प्रस्ताव

नेपाल लाइभ | २०७६ भदौ ३० सोमबार | Monday, September 16, 2019 ०६:३३:०० मा प्रकाशित

कोलम्बिया- कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सह-आयोजक हुन तयार रहेको बताएका छन्। उनले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताए।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका राष्ट्रपति मार्टिन भिजकारासँग भेट गरी उक्त प्रस्ताव अघि सारेका हुन्। कोलम्बियाको लेटिसियामा आयोजित एक सम्मेलनका क्रममा राष्ट्रपति डोकुले भने, 'इक्वेडरका राष्ट्रपतिले राख्नुभएको प्रस्तावलाई आफ्नो समर्थन रहेको बताएँ।'

राष्ट्रपति डोकुले विश्वकप फुटबल आयोजनाका लागि फिफासँग अनुरोधका सन्दर्भमा आवश्यक तयारी गर्न कोलम्बियाली अधिकारीहरुलाई निर्देशन दिइसकेको पनि जानकारी दिए।

दक्षिण अमेरिकाबाटै सन् २०३० का लागि अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीले पनि संयुक्त दाबी गर्दैछन्। सन् २०३० को फिफा विश्वकप १००औं वर्षगाँठ हुनेछ। पहिलो विश्वकप दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले जितेको थियो। रासस/सिन्ह्वा