नवलपरासी- मदारबाबा मेला आएका एक भारतीय नागरिकको मृत्यु भएको छ ।
नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीबाट नौ किलोमिटर उत्तरतर्फ पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिकस्थल मजारमा पुग्न पहाड चढ्दै गर्दा लडेर उनको मृत्यु भएको हो। मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महाराजगन्ज जिल्लाको खजुरिया बस्ने ५० वर्षीय भरतचन्द्र पटेल रहेको प्रहरी चौकी महलबारीका इन्चार्ज सई डम्बर क्षेत्रीले बताए।
माघ २२ गतेदेखि मदारबाबाको मेला चलिरहेको छ। मेलामा नेपालभित्र तथा भारतबाट लाखौँ दर्शनार्थी मेला अवलोकन गर्न आउने गरेका छन्।
यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकाअन्तर्गत गण्डक नदीमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
सुस्ता गाउँपालिका–२, फेनहरा बस्ने ५५ वर्षीय छोटई बनिया महलबारीको मदारबाबा मेला जानका लागि गण्डक नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। बुबा डुबेर बचाउन खोज्दा १९ वर्षीय छोरा व्रिजेश बनिया समेत डुबेर बेपत्ता भएका छन्।
छोरा अहिलेसम्म फेला परेका छैनन्। गण्डक नदीको पानी घटाएर शवको खोजी कार्य भइरहेको महलबारी प्रहरी चौकी ईन्चार्ज डम्बर क्षेत्रीले जानकारी दिए।
बाबुछोरा मदारबाबा मेला जानका लागि घरबाट यहाँ आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।