काठमाडौं- बिहीबार बाँकेमा भएको घटनाको विरोधमा नेपाली कांग्रेसले शनिबार विरोधका विभिन्न कार्यक्रम गर्ने भएको छ।
बाँकेको खजुरामा कांग्रेसको जागरण अभियानको कार्यक्रम चलिरहँदा सत्तारुढ दलका स्थानीय नेता तथा कार्यकताको आक्रमणबाट जिल्ला सभापति किरण कोइराला घाइते भएको कांग्रेसले जनाएको छ।
आफ्ना स्थानीय नेता तथा कार्यकर्ता घाइते भएपछि केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेसले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।
सोही घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै शनिबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउने बताइएको छ।
शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवा बाँकेमा हुने विरोध कार्यक्रममा सहभागी हुने भएका छन्।
साथै, शनिबार दिउँसो माइतीघरमा धर्ना कार्यक्रम राखिएको छ।
प्रवक्ता विश्व प्रकाश शर्माले नेकपाका उद्दण्ड कार्यकर्ताले आक्रमण गरेको बताए।
उनले भने,‘नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न लागेपछि आक्रमण भएको छ। ७० वर्षे जिल्ला सभापतिलाई आक्रमणको निशाना बनाइयो।’
गृहमन्त्री थापाले सामाजीक सञ्जालको विवादले घटना भएको भनाईको प्रतिवाद गर्दै शर्माले भने,‘७० वर्षे आमा सामाजिक सञ्जालका कारण भिड्नु भयो होला? गृहमन्त्रीको सूचना संयन्त्रलाई कठै मात्रै भन्न सकिन्छ।’
नेकपा कार्यकर्ताको आक्रमणबाट दर्जनौं कार्यकर्ता घाइते भएको कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।