काठमाडौं– प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग्दै निवेदन दिएका डा गोविन्द केसीसहितको टोलीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिलिपि नदिई फर्काएको छ।
एक साताअघि गत १७ गते डा केसीले बबहरमहलस्थित सिडिओ कार्यालय पुगेर नागरिकलाई सूचना हक अन्तर्गत निवेदन दर्ता गरी पराजुलीको नागरिकता प्रतिलिपि माग गरेका थिए। निवेदन दर्ता गराउन डा केसीसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ र डा अभिषेकराज सिंह पुगेका थिए।
सिडिओ कार्यालयले निवेदनको जवाफमा पत्र दिँदै 'प्रधानन्यायाधीश पराजुलीको नागरिकता माघ ९ मै सर्वोच्च अदालत पठाइसकिएको र मुद्दाको पक्षले नक्कल लिन पाउने नै हुँदा उपलब्ध गराइरहनु नपर्ने' भनेको छ।
बुधबार डा केसीसँगै अधिवक्ता अर्याल र डा सिंह प्रतिलिपि लिन सिडिओ कार्यालय पुग्दा सूचना अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्र थमाइएको हो।
न्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा केसीले लगाएका छन्। न्याय परिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममिति फरक रहेको विषयमा लामो समयदेखि विवाद छ।
डा केसीले तनहुँ स्थायी घर भएका पराजुलीको नाममा जिप्रका काठमाडौंले फरक-फरक समयमा फरक-फरक उमेर उल्लेख गरी जारी गरेका नागरिकता प्रमाणपत्रका प्रतिलिपिहरु माग गरेका थिए।
प्रतिलिपि मागिएको निवेदनबारे जिल्ला प्रशासन कार्यालयले दिएको पत्र:

डा केसी सहितका निवेदकहरुले माघ १७ गते कार्यालयमा दिएको निवेदन:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।