एजेन्सी– बलिउड स्टार टाइगर श्राफको अलग्गै पहिचान छ। उनी प्रत्येक फिल्ममा कुनै न कुनै नयाँ तरिका अपनाएर दर्शकको मनमा छाप छोड्न सफल छन्। उनी छिट्टै रितिक रोशनसँग फिल्म ‘वार’ मा एक्सन अवतारमा देखिँदैछन्।
पछिल्ला दिनमा टाइगर श्राफको नयाँ फिल्म ‘र्याम्बो’ लाई लिएर बलिउडमा चर्चा चुलिएको छ। १९८२ मा रिलिज भएको हलिउड फिल्म र्याम्बोको हिन्दी रिमेक यो फिल्म घोषणा भएर पनि लामो समयदेखि अड्किइरहेको थियो। अब भने फिल्ममा टाइगरले अभिनय गर्ने पक्का भएको छ।
फिल्म ‘वार’ का निर्देशक सिद्धार्थ आनन्दले ‘र्याम्बो’ को सुटिङ आगामी २०२० मार्चबाट सुरु हुने बताए। फिल्म र्याम्बो पनि सिद्धार्थ आनन्दले नै निर्देशन गर्ने भएका छन्।
हलिउड फिल्मको रिमेक भए पनि र्याम्बोलाई भारतीय भावना अनुसार रुपान्तरित गरिएको सिद्धार्थले बताए। उनले आगामी एक्सन थ्रिलर फिल्म वार रिलिज हुनेबित्तिकै र्याम्बोको काम थालिने जानकारी दिए। उनले दुई वर्ष पहिले नै टाइगरको साथमा र्याम्बोको घोषणा गरेका थिए।
फिल्म वार भने २ अक्टोबरमा गान्धी जयन्तीको अवसर पारेर रिलिज गरिने सिद्धार्थले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।