एजेन्सी– दक्षिण भारतीय सुपरस्टार प्रभासका एक समर्थकले हालै देखाएको अजिब हर्कतले धेरैलाई आश्चर्यचकित बनाइदिएको छ। प्रभासलाई भेटेर कुराकानी गर्न पाउनुपर्ने माग राखेका ती समर्थक मोबाइल टावरको टुप्पोमा चढेर प्रभासलाई भेट्न नपाए ज्यान नै दिने धम्की दिइरहेका थिए।
समर्थकले प्रभाससँग भेट्न नपाए टावरबाटै हाम्फालेर ज्यान दिने धम्की दिन थालेपछि घटनास्थलमा प्रहरी र सर्वसाधारणको भीड लागेको थियो।
प्रहरी र सर्वसाधारणले ती समर्थकलाई मनाएर टावरबाट ओराल्ने कोशिस गरे। तर उनी त्यहाँबाट तल आउन मानिरहेका थिएनन्। उनी भनिरहेका थिए, ‘मेरा प्रिय कलाकारलाई भेट्न दिइएन भने यहीँबाट हाम्फालेर मरिदिन्छु।’
अन्तिममा प्रहरीले अनेक उपाय अपनाएर ती क्रेजी समर्थकलाई मोबाइल टावरबाट ओरालेको थियो। आफ्ना समर्थकको हर्कतबारे प्रभासलाई भने थाहा नदिइएको प्रहरीले बताएको छ।
यतिबेला प्रभासको फिल्म ‘साहो’ प्रदर्शन भइरहेको छ। नकारात्मक प्रचारका बीचमा पनि साहोले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ। ३५० करोड बजेटमा बनेको फिल्मले १० दिनमा ४०० करोडको बिजनेस गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।