भक्तपुर– शारीरिक सम्बन्ध राख्ने विषयमा झगडा हुँदा पक्राउ परेका दुई युवकलाई भक्तपुर प्रहरीले बलात्कार मुद्दामा कारबाही अघि बढाएको छ। दुई युवतीका अभिभावकको उजुरीको आधारमा मुद्दा अघि बढेको हो।
सूर्य्विनायक नगरपालिका–५ सृजनानगर डेरा गरी बस्ने सर्लाहीको बरहथवा घर भएका २२ बर्षीय अमिर पण्डित र सोही ठाउँ घर भई काठमाडौँ बानेश्वर बस्ने २८ बर्षीय सन्दिप रायलाई प्रहरीले सामूहिक बलात्कारको आरोप लगाउदै मुद्दा अघि बढाएको हो। उनीहरुमाथि दुई युवतीलाई बलात्कार गरेको उजुरी छ।
प्रहरीका अनुसार सोमबार युवकले किशोरीलाई बाटोमा चिनजान गरेका थिए। उनीहरु दुवै जना केटाको कोठामा जान तयार भए। पण्डितले पण्डितसँग सहमतिमै सम्बन्ध राखिन्। रायले पनि सम्बन्ध राख्न खोज्दा उनले मानिनन्। त्यसपछि युवकले चक्कु देखाएर आफ्नै साथी र युवतीलाई धम्काएका थिए। चक्कु देखाएर धम्काएपछि पण्डितले प्रहरीलाई खबर गरेका थिए। भक्तपुर प्रहरीले चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको हो।
युवतीका आफन्तले जर्बजस्तीकरणी मुद्दामा जाहेरी दिएपछि उनीहरुविरुद्ध कारबाही अघि बढाइएको भक्तपुरका डिएसपी कृष्ण प्रसाईले बताए।
पक्राउ परेका एक युवक पेन्टर हुन् भने अर्का बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति हुन्। पीडित किशोरीमध्ये एक १५ वर्षकी र अर्की १४ वर्षकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।