काठमाडौं- सन्दीप लामिछानेले ३ विकेट लिएपछि क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा बारबडोस ट्राइडेन्ट्स विजयी भएको छ।
सिपिएलअन्तर्गत बुधबार भएको खेलमा १ सय ८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स एन्ड नेविस प्याट्रियोट्स १ सय ६८ रनमै सीमित भएपछि बारबडोस १८ रनले विजयी भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको बारबडोसले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ८६ रनको योगफल तयार गरेको थियो। उसका लागि लेनिको बाउचरले सर्वाधिक अविजित ६२ रन, जोनसन चार्ल्सले ५२ तथा जेपी डुमिनीले अविजित ४३ रन प्रहार गरे।
सेन्ट किट्सका रयाद इम्रिट र उसामा मिरले समान १/१ विकेट हात पारे।
१ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सका लवरी इभान्सले ६४ र डोमिनिक ड्राकिसले अविजित ३४ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन।
बारबडोसको जितमा सन्दीप नायक सावित भए। उनले ४ ओभरमा मात्र २२ रन खर्चिएर ३ विकेट लिएका थिए। 'प्लेयर अफ दि म्याच'समेत बनेका उनले सेट ब्याट्सम्यान लउरी इभान्स, सामराह ब्रुक्स र कप्तान कार्लोस ब्राथवेयटलाई पेवेलियन फर्काएका थिए।
लामिछानेबाहेक जसोन होल्डर र हेडिन वाल्सले समान २/२ विकेट लिए।
योसँगै बारबडोसले प्रतियोगितामा पहिलो जित निकालेको छ। उसले २ खेलमा १ मा जित र अर्कोमा हार बेहोरेको छ। बारबडोस अंकतालिकाको चौथो स्थानमा छ। सेन्ट किट्सले ४ खेल खेले पनि १ खेलमा मात्रै जित निकालेको छ। बारबडोसको जस्तै समान २ अंक रहे पनि नेट रनरेटको आधारमा सेन्ट किट्स तेस्रो स्थानमा कायम रहेको छ।
सबै ३ खेलमा जित हात पार्दै गुयना अमेजन वारियर्स पहिलो स्थानमा छ। त्रिनबागो नाइट राइडर्सले समान ६ अंक नै प्राप्त गरे पनि नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।