काठमाडौं- चीनले सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक रणनीतिको विरुद्धमा रहेको दाबी गरेको छ।
नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएको केही समयपछि चिनियाँ विदेश मन्त्रालयले प्रचण्डसँग वाङको भेटबारे जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ।
विदेशमन्त्री वाङको नेपाल भ्रमणबारे शृंखलावद्ध विज्ञप्ति जारी गरेको चीनले वाङसँगको भेटमा प्रचण्डले इन्डो प्यासेफिक रणनीतिलाई नेपालले अस्वीकार गर्ने बताएको उल्लेख गरेको छ।
‘नेपाल असंलग्न नीतिमा अडिग छ र कथाकथित इन्डो प्यासेफिक रणनीति अस्वीकार गर्छ,’ प्रचण्डलाई उद्धत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘चीनको विकास रोक्ने कुनै पनि कदमको विरोध गर्छ र चीनको विकास नेपालका लागि अवसर हो भन्ने सधैं विश्वास गर्दछ। नेपाल चीनको सफलताको अनुभव सिक्न चाहन्छ।’
प्रचण्ड र वाङबीच मंगलबार नक्सालस्थित होटल मेरिएटमा भेट भएको थियो। भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने वाङसँग नेपाल-चीन सहकार्य र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे कुरा भएको बताएका थिए।
‘नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट र चिनियाँ जनताका तर्फबाट हुने सहयोग र हाम्रो अपेक्षाबारेमा कुराकानी भयो,’ भेटपछि संवाददाताहरुसँग कुराकानी गर्दै प्रचण्डले भनेका थिए, ‘दुवै देशका सरकारले गर्ने सहकार्य र सहयोगका क्षेत्रलाई विस्तार गर्ने बारेमा पनि छलफल भयो।’
प्रचण्डले चीनले दाबी गरेजस्तै इन्डो प्यासेफिक रणनीतिबारे कुरा भए/नभएको बारे भने केही उल्लेख गरेका थिएनन्।
मौखिक रुपले मात्रै नभई नेपाल काममा समेत 'एक चीन नीति'प्रति दृढतापूर्वक उभिएको बताउँदै प्रचण्डले हङकङलाई चीनको आन्तरिक मामिला भनेको समेत विज्ञप्तिमा उल्लेख छ।
‘प्रचण्डले भने- नेपाल केवल मौखिक रुपमा मात्रै होइन काममा समेत एक चीन नीतिप्रति दृढतापूर्वक उभिन्छ र चीन विरोधी गतिविधिका लागि कुनै पनि बाह्य शक्तिलाई नेपाल भूमि प्रयोग गर्न दिँदैन्,’ विज्ञप्तिमा भनिएको छ।
देउवा मौन
चिनियाँ विदेशमन्त्री वाङले राजनीतिक भेटघाटका दौरानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।
प्रचण्डलाई भेटेकै होटलेमा देउवा र वाङबीच भेटवार्ता भएको थियो। वाङसँगको भेटमा इन्डो प्यासेफिक रणनीतिबारे देउवा भने मौन रहेका थिए। चिनियाँ विदेश मन्त्रालयका अनुसार देउवाले पनि नेपाल 'एक चीन नीति'प्रति अडिग रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्याएका थिए।
इन्डो-प्यासेफिक रणनीतिबारे भने देउवाले बोले/नबोलेको बारे विज्ञप्तिमा केही पनि उल्लेख छैन। वाङसँगको भेटमा नेपाललाई ल्यान्ड लक्ड (भूपरिवेष्ठित)बाट ल्यान्ड लिंक्ड(भू-जडित) बनाउन क्षेत्रीय सम्पर्कलाई बढाउनुपर्ने मत देउवाले राखेका थिए।
दुई देशको सम्बन्ध र दुई देशका जनताबीच भातृत्व बढाउन कांग्रेसले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई बढाउन चाहेको पनि देउवाले बताएका थिए।
वाद-प्रतिवाद
सन् २०१७ मा चीनको महत्वाकांक्षी परियाजना 'वेल्ट एन्ड रोड इनिसिएटिभ'(बिआरआई)मा आवद्ध हुन नेपालले औपचारिक सहमति गरेको थियो। चीनले बिआरआई अघि सारेपछि अमेरिकाले त्यसको प्रतिवादमा इन्डो प्यासेफिक रणनीति अघि सारेको हो।
सन् २०१८ को डिसेम्बरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिकी समकक्षी माइक पोम्पेओसँग द्विपक्षीय भेटका लागि अमेरिका गएपछि नेपाल इन्डो प्यासेफिक रणनीतिमा तानिएको थियो।
परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि विदेशमन्त्री पोम्पेओको कार्यालयले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच इन्डो प्यासेफिकमा नेपालको ‘केन्द्रीय भूमिका’ रहने लगायतका विषयमा छलफल भएको उल्लेख थियो।
तर, परराष्ट्रमन्त्री ज्ञवालीले त्यसलाई तत्कालै अस्वीकार गरेका थिए। अमेरिकाबाट फर्किए लगत्तै पत्रकार सम्मेलन गर्दै उनले इन्डो प्यासेफिक रणनीतिमा नभई इन्डो-प्यासेफिक क्षेत्रमा नेपालको भूमिकाबारे छलफल भएको बताएका थिए।
‘सार्कको अध्यक्ष र बिम्स्टेकको सदस्यका रुपमा नेपालले इन्डो प्यासेफिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने विश्वास गर्दछ,’ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भनेका थिए, ‘तर, अमेरिकाले नेपाललाई इन्डो प्यासेफिक रणनीतिमा राखेको भन्ने विवरणहरु गलत हुन्।’
त्यसयता नेपाल भ्रमणमा आएका अधिकांश अमेरिकी अधिकारीले नेपाल इन्डो प्यासेफिक रणनीतिमा आवद्ध रहेको उल्लेख गर्ने र नेपालले त्यसको कूटनीतिक तरिकाले प्रतिवाद गर्ने क्रम निरन्तर जारी छ।
पछिल्लोपटक नेपाल लाइभसँगको विशेष कुराकानीमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले असंलग्नताको सिद्धान्तलाई नेपालले हरहालतमा पालना गर्ने भन्दै कुनै रणनीति वा गठबन्धनमा सहभागी नहुने प्रष्ट पारेका थिए।
‘ठूला शक्ति राष्ट्रका सैन्य रणनीति, गठबन्धन या प्रतिस्पर्धासँग चाहिँ हाम्रो कुनै सरोकार रहँदैन,’ मन्त्री ज्ञवालीको भनाइ थियो, ‘त्यसको अगं बन्दैनौं हामी। नेपालले ती कुराहरु मात्रै लिन्छ जुन नेपालको हितमा छ। हामी कुनै सैन्य वा अन्य रणनीति जो कसैले अघि सारे पनि त्यसमा जोडिदैनौं।’
यो पनिः
‘इन्डो प्यासिफिक रणनीति’मार्फत् नेपालमाथि अमेरिकी सेनाको नजर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।