सिपिएलको रोमाञ्चकता : भेटियो २४२ रनको लक्ष्य, खेर गयो गेलको शतक

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 १२:४१:०० मा प्रकाशित

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेटमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सले २४२ रनको लक्ष्य पूरा गरेको छ। जमाइका तलाबाजले दिएको लक्ष्य प्याट्रियोट्सले ६ विकेट गुमाएर ७ बल बाँकी छँदै पूरा गरेको हो।

टी-२० क्रिकेटमा सबैभन्दा धेरै रनको लक्ष्य पूरा भएको यो दोस्रो कीर्तिमान हो। यसअघि गएको वर्ष न्युजिल्याण्डविरुद्ध अस्ट्रेलियाले २४५ रनको लक्ष्य पूरा गरेको थियो। साथै टी–२० क्रिकेटमा उच्च रनको तालिकामा प्याट्रियोट्सको २४२ रन चौथो नम्बरमा परेको छ। साथै यो सिपिएलको इतिहासमा सबैभन्दा बढी रनको कीर्तिमान पनि हो। साथै दुवै इनिङमा गरेर बनेको ३७ छक्का पनि सर्वाधिक छक्काको कीर्तिमानमा बराबरी हो। 

प्याट्रियोट्सको जितमा डेभन थोमसले ४० बलमा ७१ रन बनाए। त्यसमा उनले ८ चौका र ३ छक्का लगाएका थिए। यस्तै इभिन लुइसले १८ बलमा ६ छक्का ३ चौकासहित ५३ रन, लाउरे इभान्सले २० बलमा ४ छक्का २ चौकासहित ४१ रन, फाबियन एलनले १५ बलमा २ छक्का ५ चौकासहित आउट नभइ ३७ रन बनाए। साथै शामअर ब्रुक्सले १५ बलमा १ छक्का ३ चौकासहित २७ रन बनाए।

प्याट्रियोट्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि जमाइका ब्याटिङमा आएको थियो। जसका लागि क्रिस गेलले ६२ बलमा ११६ रन बनाएका थिए। त्यसमा उनले १० छक्का र ७ चौका लगाए। चाडविक वाल्टनले ३६ बलमा ८ छक्का ३ चौकासहित ७३ रन बनाएका थिए। तर बलियो लक्ष्य दिए पनि जमाइकाले प्याट्रियोट्सको ब्याटिङलाई रोक्न सकेन। गेलको २२ औँ टी-२० शतक हारमा पुग्यो। 

१८ बलमा ५३ रन बनाएका प्याट्रियोट्स लेभिसले सिपिएलमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान पनि बनाए। उनले ५० रनको आँकडा १७ बलमा नै पूरा गरेका थिए। आक्रामक ब्याटिङकै कारण उनी ‘प्लेयर अफ दि म्याच’ पनि बने।

सिपिएलमा यसअघिका दुई खेल हारिसकेको प्याट्रियोट्सको यो पहिलो जित हो। जमाइकाले भने दुबै खेल हारेको छ। 

सिपिएलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने गएको सिजन प्याट्रियोट्समा नै आबद्ध थिए। यो सिजन उनी बारबाडोस ट्रिडेन्टसमा छन्। बारबाडोस पहिलो खेलमा अमेजन वारियर्ससँग ४७ रनले पराजित भएको थियो। जसमा एक ओभर मात्रै बलिङ पाएका सन्दीपले पाँच रन खर्चिएका थिए।