काठमाडौं– नेपाल राष्ट्र बैंकले रोक्का गरेको झन्डै सवा २ अर्ब रकम निकासा गर्न माग गर्दै व्यवसायी अजेयराज सुमार्गी सर्वोच्च अदालत पुगेका छन्।
बैंकविरुद्ध नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले रकम निकासा माग गर्दै रिट दर्ता गराएका हुन्।
आइतबार दर्ता भएको रिटमाथि आज बहस चलिरहेको छ।
सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकस्थित खातामा आएको २ करोड १३ लाख अमेरिकन डलर रोकिएको थियो। त्यसबेला डा युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर थिए। उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का गर्न भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको थियो। सोही पत्रअनुसार बैंकले बाँकी निकासा रोकेको थियो।
सुमार्गीले सो रकम विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भन्दै भित्र्याएका थिए। बैंकले उक्त रकम निकासा गर्न आवश्यक कागजात जुटाउन भने पनि उनले जुटाउन सकेका थिएनन्।
रिटमाथि न्यायाधीश तेजबहादुर केसीको एकल इजलासमा आज बहस भइरहेको छ। सुमार्गीको तर्फबाट बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी, हरि फुयाल र राघवलाल वैद्यले बहस गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।