काठमाडौं- कीर्गिस्तानमा भइरहेको नादेझ्दा कपमा नेपाली महिला टिम फाइनलमा पुगेको छ। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले हराएसँगै नेपाल फाइनलमा पुगेको हो।
ताजिकिस्तानविरुद्ध नेपालका लागि सावित्रा भण्डारीले खेलको ८५ औँ मिनेटमा गोल गरेकी हुन्। प्रतियोगितामा पाँचौँ गोल गर्ने क्रममा सावित्राले गीता रानाले हानेको फ्रिकिकमा हेडमार्फत गोल गरेकी थिइन्।
नेपालले फाइनलमा उज्वेकिस्तानसँग बिहीबार खेल्नेछ।
पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई नै ८–२ ले हराएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो। ताजकिस्तान पहिलो खेलमा उज्वेकिस्तानसँग १२–० ले हारेको थियो। ताजकिस्तानले कीर्गिस्तानलाई भने २–१ ले हराएको थियो।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि कीर्गिस्तान गएको नेपाली टोलीले पाँच दिनमा नै चार खेल खेलिरहेको हो। नेपाल, कीर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सहभागी प्रतियोगितामा शीर्ष दुई टिम फाइनलमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।