साउथ क्यारोलिना- अमेरिकाको साउथ क्यारोलिनामा आइतबार दुई रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा २ जना यात्रुको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।
घटनामा १ सय १६ जनाभन्दा बढी यात्रु घाइते भएका बताइएको छ।
न्यूयोर्कबाट मियामीतर्फ १ सय ३९ जना यात्रु लिएर हिँडिरहेको आमट्रयाक रेलमा सवार २ जनाको मृत्यु भएको लेक्सिङकन काउन्टीका जनसम्पर्क अधिकारी मार्गरेट फिसरले बताए।
घाइतेमध्ये केहीको हात, खुट्टाको हाड भाँचिएका र धेरैको विभिन्न स्थानमा काटेका साना तथा ठूला घाउहरू देखिएको एक प्रत्यक्षदर्शीले बताए।
राष्ट्रिय यातायात सुरक्षा समितिले घटनास्थलमा अनुसन्धान अधिकारी पुगेको र दुर्घटनाको कारणको विषयमा अनुसन्धानपछि मात्र सहि तथ्य बाहिर आउने बताएको छ।
दुर्घटनापछि आर्मट्रयाक रेलको इन्जिन रेलको लिकबाट छुट्टिएर भुईमा लडेको तथा स्थानीय तथा सुरक्षाकर्मीहरूले रेलमा रहेका यात्रुहरूको उद्धार गरिरहेको टेलिभिजनबाट प्रशारित भिडियोमा देखाइएको छ।
केही यात्रु गम्भीर रूपमा घाइते भएको भन्दै स्थानीय अधिकारीले मृतकको सङ्ख्या थपिन सक्ने बताए। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।