कैलाली- प्रदेश नम्बर ७ को पहिलो संसद् बैठक आइतबार बस्यो। धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षलाई प्रदेशसभा (संसद्) मा रुपान्तरण गरिएको छ।
आइतबारको ऐतिहासिक संसद् अधिवेशन सकिएपछि सांसदहरू बैठक कक्षबाट बाहिर निस्किँदै थिए। त्यत्तिकैमा एक जना वयोवृद्ध संसद् हलभित्र छिरे। उनी थिए, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पसरोडका ८८ वर्षीय मन्धिर भट्टराई।
हलभित्र उनले निकै चासोका साथ चारैतिर अवलोकन गरे। अनुहारमा कौतुहल र उत्साहको भाव देखिन्थ्यो।
उनी संसद् बैठक सुरु हुनुभन्दा अघिदेखि नै सभाकक्षबाहिर बसिरहेका थिए। बैठक सकिएपछि उनले आफूलाई थाम्न सकेनन् र सरासर भित्र पसे।
केहीबेर अवलोकन गरेपछि उनको प्रतिक्रिया थियो– 'अहिलेसम्म नजिकैबाट मन्त्री समेत हेर्न पाएको थिइनँ। अहिले सांसद हेर्न पाएँ। संसद् कक्ष निकै राम्रो पो हुँदो रैछ!'
बैठक अवधिभर जिल्ला समन्वय समितिको प्रांगणमा बसेर उनीसहितका सर्वसाधारण, यस क्षेत्रका राजनीतिक दलका कार्यकर्ता, विषयगत कार्यालयका कर्मचारीहरु संसदभित्रको छलफल माइकबाट सुनिरहेका थिए।
सभाहल बाहिर एउटा स्पिकर र टेलिभिजनको व्यवस्था गरिएको थियो। तर, पर्खाल भएकाले टिभीमा सांसदहरुलाई सर्वसाधारणले हेर्न पाएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।