नयाँदिल्ली- पश्चिम अफ्रिकी बेनिनमा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको छ।
पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५ टन पेट्रोल रहेको बताइएको छ। उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिनको कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको आशंका गरिएको समाचारमा जनाइएको छ।
हङकङमा कार्यालय रहेको एङ्लो इस्टर्न जहाज कम्पनीले बिहीबारबाट जहाजसँग सम्पर्क टुटेको जनाएको छ। उसले खोजीका उपायहरु अवलम्बन गरिएको तर पत्ता नलागेको जनाएको छ।
उक्त कम्पनीका अधिकारीहरुले आफ्नो पहिलो प्राथमिकता जहाजलाई सुरक्षित अवतरण गर्नु रहेको कम्पनीले ट्विटरमा लेखेको छ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिनमा सम्पर्क गरिरहेको तर जहाजको सम्पर्क सूत्र पत्ता नलागेको जानकारी दिएका छन्।
स्थानीय सञ्चार माध्यमहरुले पछिल्लो महिना जहाज बेपत्ताको यो दोस्रो घटना भएको जनाएका छन्।
गत जनवरीमा पनि यस्तै एक पानीजहाज बेपत्ता भएको थियो। बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहे नरहेको बारे केही पत्ता लागेको छैन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।