नयाँ दिल्ली- पश्चिम अफ्रिकी देश बेनिनमा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले आइतबार जनाएका छन्।
पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५ सय टन पेट्रोल रहेको बताइएको छ। उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिनको कोतोनोउ शहरको समुद्रबाट गत बिहीबारदेखि हराएको आशङ्का गरिएकोे छ।
हङ्कङमा कार्यालय रहेको एङलो इस्टर्न जहाज कम्पनीले बिहीबारबाट जहाजसँग सम्पर्क टुटेको जनाएको छ। उसले ट्विट गर्दै खोजीका उपायहरु अवलम्बन गरिएको तर पत्ता नलागेको जानकारी दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिनमा सम्पर्क गरिरहेको तर जहाजसँग भने हालसम्म सम्पर्क स्थापित हुन नसकेको जानकारी दिए।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार पछिल्लो एक महिनामा जहाज बेपत्ता भएको यो दोस्रो घटना हो।
गत जनवरीमा पनि एक पानीजहाज बेपत्ता भएको थियो। बिहीबारबाट सम्पर्क बिहिन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहे नरहेको बारेमा भने केही पत्ता लागेको छैन। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।