वालिङ- स्याङ्जाको हरिनास–३ ललईमा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको छ।
हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको हत्या गरेको हो।
बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झन्डै ८/१० ठाउँमा धारिलो हतियारको चोट रहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी तथा पोखराबाट कुकुरसहित आएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको उनले जानकारी दिए।
घटनास्थल इलाका प्रहरी चौकीबाट झन्डै २ किलोमिटरको दुरीमा रहेको छ। उक्त स्थानमा दुई घर मात्रै रहेको बताइएको छ।
हत्या कसले र किन गर्यो भन्ने खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।