वासिङ्टन - अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे विवादास्पद मानिएको ‘नुन्स मेमो’(दस्तावेज) सार्वजनिक गरेको भनी अमेरिकी गुप्तचर निकाय (एफबिआई)का पूर्व प्रमुख जेम्स कोमीले दु:ख व्यक्त गरेका छन्।
चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि सो टिपोट केन्द्रित छ।
एफबीआइले टिपोट सार्वजनिक गर्ने कदमप्रति गम्भिर चिन्ता व्यक्त गर्दै यसबाट मूख्य तथ्यहरु हटाइएको जनाएको छ। सो टिपोटमा न्याय मन्त्रालय र एफबिआइलाई पेजविरुद्ध जासूसी गर्न प्रमाणित नभएको प्रतिवेदनलाई आधार बनाएको आरोप लगाइएको छ।
उक्त टिपोटमा गुप्त प्रतिवेदनका लेखक पूर्व ब्रिटिश जासूस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई आफू डोनल्ड ट्रम्प चूनावमा पराजित भएको हेर्न व्याकूल रहेको बताएको जनाइएको छ।
उक्त टिपोटलाई गोप्य नराख्न शुक्रबार अनुमति दिएका राष्ट्रपति ट्रम्पले ती दस्तवेजमा उल्लेख भएका गतिविधि भयावह भएको प्रतिक्रिया दिएका थिए।
रसियाली हस्तक्षेपका विषयमा रहेको दस्तावेज सार्वजनिक गरेकोमा असन्तुष्टी जनाउँदै कोमीले ट्वीट गरेका छन्,'गलत तथा भ्रामक टिपोट सार्वजनिक भएको छ। यसले अमेरिकी संसद्को अन्तर्राष्ट्रिय समिति, गुप्तचर सेवा तथा विदेशी गुप्तचर निरिक्षण कानूनी निकायको विश्वास गुमेको छ। यसले अझ बढी अक्षम्य कुरा त एक अमेरिकी नागरिकले गरेको वर्गीकृत अनुसन्धानलाई विवादमा तानेको छ।'
उनले प्रश्न गरे,'अमेरिकी न्याय विभाग र एफबिआईजस्ता गुप्तचर निकायले अब केका लागि आफ्नो सेवालाई निरन्तरता दिनुपर्ने?'
कोमीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष अचानक बर्खास्त गरेका थिए। उनको बर्खास्तीसँगै अमेरिकी सञ्चारमाध्यमले ट्रम्प प्रशासनको व्यापक आलोचना गरेका थिए। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।