काठमाडौं– एक महिनाअघि पिङ्गलास्थानको पशुपति भिजनस्थित होटल अमादब्लममा माइती नेपालका कर्मचारी आदित्य गुरुङको हत्या गर्ने अभियुक्तहरु जेल चलान भएका छन्। हत्यामा संलग्न तीन जना जेल चलान भएका छन् भने २ जना धरौटीमा छुटेका छन्।
गत पुस १२ गते राती होटलकै कर्मचारीले छुरा हानेर गुरुङको हत्या गरेका थिए। एक क्वाटर रमको विवादमा गुरुङको हत्या भएको थियो।
हत्यामा संलग्न डोनी शेर्पा, शिवराज ढकाल र भूपेन्द्र खत्री जेल चलान भएको महानगरीय प्रहरी वृत्त गौशलाका डिएसपी अनुपम श्रेष्ठले बताए। पक्राउ परेका सरोज खड्का र बिनोद चौलागाई धरौटीमा छुटेका छन्। हत्यामा उनीहरु प्रत्यक्ष रुपमा संलग्न थिएनन्।
एक क्वाटर रमको विवादमा भएको थियो हत्या
भारतको सिलिगुडी घर भएका मृतक गुरुङ माइती नेपालको फुटबल कोचका रुपमा कार्यरत थिए। दुई साथीसहित उनी बुधबार दिउँसो उक्त होटलमा बस्न गएका थिए।
गुरुङ र उनका दुई जना साथी होटलको कोठा नम्बर ८१० मा बसेका थिए। रातको करिब सवा १२ बजेको थियो। उनीहरुले रिसेप्सनमा फोन गरेर एक क्वाटर रम र स्न्याक्स ल्याउन आग्रह गरे। तर, ढिला भएको भन्दै होटलका कर्मचारीले रम र स्न्याक्स थप्न नसकिने बताए। फोनमै उनीहरुबीच सामान्य विवाद भयो।
त्यसपछि गुरुङ र उनका एक साथी रिसेप्सनमै आएर कुरा गर्न थाले। कर्मचारीले मदिरा बेच्न नसकिने बरु नजिकैको बाग्मती होटलबाट मगाउन सकिने बताए। होटलले नेबेच्ने तर अर्काे होटलबाट मगाउन सकिने विषयमा बिबाद भएको थियो। मेनुमा २४ घन्टा नै सर्भिस हुने भन्ने तर त्यसअनुसार सर्भिस नगरेको भन्दै विवाद बढ्यो। त्यही विवादको क्रममा हात हालाहाल भयो। विवाद चर्कदै जाँदा शेर्पाले गुरुङलाई शरीरको विभिन्न भागमा छुरा हानेका थिए। टाउको लगायत भागमा छुरा लागेर गम्भीर घाइते भएका उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा र्पुयाएकोमा उनको मृत्यु भएको थियो।
होटलको रिसेप्सनमा काम गर्ने शेर्पा लागुऔषध दुव्र्यसनी भएको अनुसन्धानमा खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।