नयाँ दिल्ली- दिल्ली उच्च न्यायालयले सन् २०१० मा भएको धौलाकुआँ सामुहिक बलात्कार कान्डका सबै आरोपीलाई भएको जन्मकैदको फैसलालाई सदर गरेको छ।
यसअघि सन् २०१४ को अक्टोबरमा दिल्लीस्थित द्वारका अदालतले घटनामा दोषी पाइएका सबै ५ आरोपिलाई जन्मकैदको फैसला सुनाएको थियो। तल्लो अदालतले उनीहरुलाई जनही ५०/५० हजारको जारिवाना समेत तोकेको थियो।
दिल्ली उच्च अदालतमा न्यायाधिस विपिन सांघी र पिएस तेजीको संयुक्त इजलासले आरोपिहरुको पुनरावेदनलाई खारेज गर्दै घटनामा पीडितको मात्रै बयान पनि पर्याप्त रहेको ठहर गरेको छ। द्वारका अदालतमा सुनावाईको क्रममा पीडितको तर्फबाट घटनास्थलमा उनीसँगै रहेका साथी र निकटस्थहरुको समेत बयान लिइएको थियो।
उच्च अदालतमा बयानका क्रममा घटनाका आरोपीहरुले आफ्नो तर्फबाट कुनै पनि ठोस आधार प्रस्तुत गर्न सकेनन्।
साे घटना सन् २०१० को नोभेम्बर २३–२४ मा भएकाे थियाे। दक्षिण दिल्लीको मोती बागस्थित शर्मा अटोमोबाइल्स नजिकबाट पीडितलाई ५ जनाले अपहरण गरेर पिक अप भ्यानभित्रै सामुहिक बलात्कार गरेका थिए।
घटनामा संलग्न उस्मान उर्फ ‘काले’, शमशाद उर्फ ‘खुटकन’, शाहिद उर्फ ‘छोटा बिल्ली’, इकबाल उर्फ ‘बडा बिल्ली’ र कमरुद्दिन उर्फ ‘मोबाइल’ले द्वारका अदालतको जन्मकैदको फैसलामाथि दिल्ली उच्च न्यायालयमा पुनरावेदन दिएका थिए। अदालतले जन्मकैदको सजाय कम गर्न गरिएको अपिल समेत खारेज गरेको छ।
यी सबै आरोपी हरियाणाका स्थायी बासिन्दा हुन्।
धौलाकुआँमा पूर्वोत्तर मिजोरमकी ३० वर्षिय युवतीको ५ जना मिली सामुहिक बलात्कार गरेका थिए। पीडित एक बिपिओ कम्पनीमा काम गर्थिन्। उनको अपहरण गर्ने क्रममा उनका साथी पनि साथमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।