वीरेन्द्रनगर, सुर्खेत – प्रदेश नं ६ अस्थायी मुकाम सुर्खेतमा आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकको तयारीलाई तीव्रता दिइएको छ।
वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको सभा हलमा बस्ने बैठकको तयारीका लागि अहिले कर्मचारीलाई भ्याइनभ्याइ छ । बैठक हलमा कुर्सी मिलाउनेदेखि हललाई शोभायमान बनाउने कार्यमा कर्मचारी खटिरहेका छन् । भोलि बस्ने पहिलो बैठकको अध्यक्षता (ज्येष्ठ सदस्य) हिमबहादुर शाहीको उपस्थितिमा हुनेछ । बैठकको आज पूर्वाभ्यास गरिएको संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।
आइतबार दिउँसो १ बजे शुरु हुने बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाइने, शहीदप्रति श्रद्धान्जलि व्यक्त गरिने, सभाअध्यक्षसहित प्रदेश संसद्मा प्रतिनिधित्व गरेका पार्टीका एक÷एक सदस्यले मन्तव्य राख्ने, अन्तरिम कार्यविधि तय गरिने र सभामुखको निर्वाचनको मिति तोकिने कार्यसूची तय गरिएको छ।
सम्भवतः सोही बैठकले यही माघ २९ गते सभामुख चयनका लागि चुनावको मिति तोक्ने बताइएको छ । त्यसका लागि संसद् सचिवालयले आवश्यक चुनावी तयारीसमेत गरिरहेको छ।
बैठकमा पत्रकारको प्रवेशका लागि संसद् सचिवालयले परिचयपत्रको व्यवस्था गरेको छ भने पत्रकारलाई मर्यादित पोशाक लगाउन आग्रह गरिएको छ । “हामीले औपचारिक पोशाक भनेका छैनौँ, तर कम्तीमा संसद्को मर्यादा देखिने पोशाक लगाएर आउन आग्रह मात्र गरेका हौँ”– संसद् सचिवालयका सचिव खड्काले भने।
प्रदेश नं ६ मा नेकपा एमालेबाट २०, नेकपा माओवादी केन्द्रबाट १३, नेपाली काँग्रेसबाट ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक गरी ४० जना सदस्य छन्।
यसैगरी शुक्रबार मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यलय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ । प्रदेश नं ६ का लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख सचिवमा नियुक्त भएका सुरेश प्रधानले पनि शुक्रबार नै पदवहाली गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।