राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिका–२ भलुवाहीका १४ वर्षीय परमानन्द मण्डल १ महिनादेखि बेपत्ता छन्। स्थानीय एक निजी विद्यालयको कक्षा १ मा पढ्ने मण्डल गत पुस ५ गते होस्टलबाटै बेपत्ता भएका हुन् ।
परिवारको एक्लो छोरो विद्यालयबाटै बेपत्ता भएपछि अभिभावक विक्षिप्त छन्। नेपाल तथा भारतमा रहेका आफन्तका साथै सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि फेला पार्न नसकेको पिता सूर्यदेव मण्डलले बताए। केही सीप नलागेपछि छोराको खोजीका लागि इलाका प्रहरी कार्यालय रुपनीमा पनि निवेदन दर्ता गरेको उनले जानकारी दिए।
‘माघ ६ गते निवेदन दर्ता भयो, तर छोरो अहिलेसम्म फेला परेन’, उनले भने, ‘अब कसको सहारामा बाँच्नु?’
साहुसँग ऋण काढेको ७० हजार रुपैयाँ छोराको खोजीमा सकिएको उनले बताए। परिवार नै छोराको खोजीमा भौतारिनुपर्दा के खाने भन्ने समस्या सुरु भएको गुनासो गरे।

विद्यालयमा छोराको बारेमा जानकारी माग्दा ‘हामी पनि खोज्दै छौं’ भन्ने बाहेक अन्य कुनै सहयोग नपाएको पनि मण्डलको गुनासो छ।
इलाका प्रहरी कार्यालय रुपनीका प्रमुख (सई) ब्रह्मदेव साहले बालकको खोजतलास भइरहेको बताए।
सिरहाको लहान नगरपालिका–६ का २६ वर्षीय राकेशकुमार यादव एक सातादेखि बेपत्ता छन्। सोमबार (१५ माघ) साँझ ५ बजेतिर घरबाट निस्किएका उनी हालसम्म फेला परेका छैनन्। ‘आफन्त, नातागोता लगायत सबै ठाउँ खोजिसक्यौं, कतै फेला पार्न सकेनौं’, राकेशका पिता गुरुदेव यादवले भने।
सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका–१ कचनारी पुर्ख्यौली घर भएका राकेश पछिल्लो केही महिनादेखि लहानस्थित घरमा बस्दै आएका थिए। परिवारमा चार भाइमध्ये साहिंलो राकेशले चलाउँदै आएका एनसेलको मोबाइल सोमबार साँझदेखि नै ‘स्विच अफ’ छ। कतै फेला पार्न नसकेपछि प्रहरीमा निवेदन दिएको उनले बताए।

इलाका प्रहरी कार्यालय लहानले बेपत्ता भएका राकेशको हुलियाको आधारमा खोजी गर्न मातहतका प्रहरी युनिटहरुलाई जानकारी गराएको बताएको छ।
राजविराज १२, दमावती सिंगियौनका २० वर्षीय रमेश यादव सात महिनादेखि बेपत्ता छन्। ‘बजार जान्छु’ भन्दै घरबाट हिँडेका उनी आजसम्म पनि घर फर्केका छैनन्।
असार २१ गते बिहान ‘अन टेस्ट’ मोटरसाइकल लिएर घरबाट हिँडेका रमेश भोलिपल्ट बिहानसम्म पनि घर नफर्केछि परिवारले उनको खोजी सुरु गर्यो। खोजी अहिले पनि जारी छ। जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दर्ता भयो, तर उनको अत्तोपत्तो लाग्न सकेको छैन।
बाबु गजेन्द्रसहित सिंगो परिवार रमेशको अवस्था पत्ता लगाउन भौंतारिएको छ। सात महिनादेखि अवस्था पत्ता नलागे पनि खोजी कार्य निरन्तर जारी राखेको गजेन्द्रले बताए।
‘मैले घटना भएको भोलिपल्टै प्रहरीमा निवेदन दिएँ र आफू पनि रातदिन नभनी कुदेको छु’, उनले भने।
रमेशले प्रयोग गर्दै गरेको मोबाइलको कल डिटेल र शंकास्पद २/३ जना व्यक्तिको नाम समेत आफूले प्रहरीलाई बुझाएको जानकारी दिँदै पिता गजेन्द्रले भने, ‘खै किन हो, त्यति गर्दा पनि प्रहरीले अहिलेसम्म कुनै सकारात्मक सूचना दिएको छैन।’
उनले छोराको सकुशल घर फिर्तीका लागि पहल गर्न आग्रह समेत गरेका छन्।
यी त केही उदाहरण मात्र हुन्, सप्तरी, सिरहा लगायत तराईका जिल्लामा पछिल्लो समय बालबालिका तथा युवायुवतीहरु हराउने र बेपत्ता हुने क्रम तीव्र रुपमा बढेको छ। चालु आर्थिक वर्षमा सप्तरीमा मात्रै ७० जना मानिस बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उल्लेख छ। जसमध्ये २४ जना फेला परेका छन् भने ४६ जनाको अझैसम्म अत्तोपत्तो छैन।
अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा पनि दर्ता भएका ४१ वटा निवेदनमध्ये २१ जनाको बारेमा पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।