काठमाडौं– एटिएम ह्याक गरेर रकम चोरी कार्यमा संलग्न थप एक जना पक्राउ परेका छन्।
सिसी टिभी फुटेजका आधारमा पहिचान भएका ती चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट पक्राउ गरिएको हो।
थप एक जना चिनियाँ नागरिक पक्राउ परेको पुष्टि महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले गरे। ‘थप एक जनालाई गएराति पक्राउ गरिएको हो। म्याद थपको क्रममा रहेकाले नाम गोप्य राखेका छौं,’ डिएसपी बोगटीले भने।
यसअघि शनिबार राति महानगरीय प्रहरी परिसर काठमाडौंले रकम चोरीमा संलग्न ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जैनमेङ, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विङ, र चेन बिनबिन रहेका छन्। उनीहरुलाई बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
एटिएम बुथमा शंकास्पद गतिविधि गरेको भनी बैंकबाट आएको सूचनाका आधारमा उनीहरु पक्राउ परेका थिए।
नबिल बैंकको दरबारमार्गस्थित एटिएम बुथबाट पैसा निकालिरहेको अवस्थामा शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनीमार्फत नै प्रहरीले थप ४ जनालाई पक्राउ गरेको थियो।
प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १९१, कम्बोडियन रियल ५ हजार, र हङकङ डलर ८०, नक्कली भिजा कार्ड १३२ थान, १७ थान सक्कली भिजाकार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल ६ थान र ल्यापटप एक थान बरामद गरेको छ।
पक्राउ परेका चिनियाँ नागरिकहरू भदौ १३ गते नेपाल आएका थिए भने भदौ १६ गते फर्किने तयारीमा थिए। (तस्बिर : शनिबार पक्राउ परेका चिनियाँ नागरिक)
सम्बन्धित-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।