काठमाडौं- मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा भदौं २६, २७ र २८ गते तीन दिने प्राज्ञिक सम्मेलन आयोजना हुने भएको छ।
‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’ नामक कार्यक्रम राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।
चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्रमाथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल समेटिने आयोजकले जानकारी दिएको छ।
कार्यक्रम हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयको ‘कि-नोट स्पिच’ पनि समेटिने छ।
यसबाहेक चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल हुनेछ।
नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुने यो कन्फ्रेन्स नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ नेपाल, अस्कर इन्टरनेशनल कलेज आदिको सहआयोजना रहने छ।
नेपालमा चलचित्र बन्न थालेको छ दशक भइसकेको छ। सम्मेलनमा प्रस्तुत हुने विविध विषय, दृष्टिकोण, विचार, प्रस्तुतिकरण आदिले आम मानिसमा पार्ने प्रभावबारेको अध्ययन सँगै परिपक्व र कलात्मक चलचित्र निर्माणको वातावरण बनाउन पनि सघाउने सम्मेलनका संयोजक तथा समीक्षक अनुप सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।