काठमाडौं- विश्वभरका गैरआवासीय नेपालीको विश्व सम्मेलन र अन्तर्राष्ट्रिय महाधिवेशन असोज अन्तिमतिरका लागि तोकिएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र चुनावी ताप हलक्कै बढेको छ।
नवौं महाधिवेशनको औपचारिक मिति तोकिनुअघि नै गर्माएको चुनावी माहोल संघको ६ भदौंको अन्तर्राराष्ट्रिय कार्यकारी सचिवालयको बैठकले २८ देखि ३० असोजसम्म काठमाडौंमा हुने तय गरेपछि चुनावी परिदृश्यहरू प्रष्ट हुन थालेका हुन्।
प्रारम्भिक चुनावी परिदृश्यले यसापालीको चुनाव राजनीतिक रूपमा ध्रुवीकृत हुने संकेत गरिरहेका छन्। त्यो ध्रुवीकरण मुलतः लेफ्ट (वाम) र डेमोक्र्याट (प्रजातन्त्रात्रिक) खेमामा हुने देखिएको छ।
लेफ्ट भर्सेस डेमोक्र्याट
संघको अध्यक्षका लागि अहिलेसम्म देखिने गरी दुई अनुहार अघि आएका छन्। संघका निर्वतमान उपाध्यक्षहरू कुल आचार्य र कुमार पन्तले एनआरएनएको नेतृत्व दाबी गर्दै ‘लबिङ’ सुरु गरेका छन्।
वाम खेमामार्फत् अघि आएका पन्त गोरखा, फुजेलका हुन्। जर्मनीमा व्यवसाय गरिरहेका पन्त एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष भइसकेका छन् भने सन् २०११ मा यूरोप क्षेत्रको क्षेत्रीय संयोजकको जिम्मेवारी निर्वाह गरेका छन्।
प्रजातान्त्रिक खेमाबाट अघि सारिएका आचार्य पर्वतको जलजला गाउँपालिकाका हुन्। बेलायतमा व्यवसाय गर्दै आएका आचार्य बेलायतको अध्यक्ष हुँदै युरोपको क्षेत्रीय संयोजक भइसकेका छन्। गृहजिल्ला पर्वत र अन्य क्षेत्रमा उनी समाजिक क्षेत्रमा समेत सक्रिय छन्।
आचार्य पक्षको दाबी आफूलाई कांग्रेसको सक्रिय सर्मथनका साथै पूर्व अध्यक्षहरू शेष घले, भवन भट्ट र देवमान हिराचनको पनि साथ रहेकाले आफूहरूले नै चुनाव जित्ने दाबी छ।
त्यस्तै, पन्तले अहिले दुई तिहाइको मतसहित सरकार हाँकिरहेको कम्युनिस्ट पार्टीको सर्मथनसँगै पूर्व अध्यक्षहरू जीवा लामिछाने र उपेन्द्र महतोको साथ पाएको दाबी गरिरहेका छन्। यद्यपि डेमोक्र्याट पक्षले भने पूर्वअध्यक्ष महतो अहिले मौन रहेकाले उनी अन्तिम समयमा आफूहरू तिरै आउन दाबी गर्छ। आचार्य पक्ष भन्छ, ‘उहाँको व्यक्तिगत सम्बन्ध कुमार पन्त भन्दा कुल आचार्यसँग राम्रो छ। उहाँ खुल्नु परेमा आचार्यकै पक्षमा खुल्नुहुन्छ।’
तर, पन्त पक्ष भने आचार्य पक्षको यस्तो दाबीलाई अस्वीकार गर्छ। पन्त पक्षको दाबी छ, ‘महतोको व्यक्तिगत सम्बन्ध कुलजीसँग राम्रै भए पनि व्यवसायिक सम्बन्ध जीवा लामिछानेसँग छ। यही सम्बन्धका कारण पनि उहाँले हामीलाई नै सर्मथन गर्नुहुन्छ।’
चुनावी अभियानमा कुमार पन्त बीचमा। तस्बिरः पन्तको फेसबुक पेज
तर महतो निकट स्रोतहरु भने उनी तत्कालै खुल्ने र कुनै पनि उम्मेदवारको पक्षमा ‘लबिङ’ गर्ने मुडमा छैनन्। खासमा महतो 'पर्ख र हेर'को रणनीतिमा छन्।
मत प्रभावित पार्ने फ्याक्टर : जनजाति र महिला
एनआरएनएमा अबको नेतृत्वका लागि कसको पल्ला भारी हुन्छ भन्ने आँकलन गर्नुअघि चुनाव प्रभावित पार्ने ‘फ्याक्टर’ पहिल्याउनुपर्ने हुन्छ।
चुनाव प्रभावित पार्ने स्थायी फ्याक्टरका अलवा यसपाली जनजाति र महिला पक्ष मुखर भएर आउने एनआरएनको चुनावमाथि नजिकबाट नियाल्ने एक जना विश्लेषक बताउँछन्।
एनआरएनमा जनजाति र महिला धेरै हुनुले यी पनि चुनाव प्रभाव पार्ने फ्याक्टर रहेको उनको विश्लेषण छ। अब कुरा आउँछ, यी दुईवटा फ्याक्टरलाई कसले आफ्नो पोल्टामा पार्न सक्छन् भन्ने।
आचार्य पक्षको दाबी यी दुई वटै फ्याक्टर आफ्नो पोल्टामा हुने छ।
त्यो कसरी?
शेष घलेको साथ आफूलाई भएको र जनजातिका नेता घले भएकाले जनजातिको मत आफूहरूलाई नै आउने आचार्य पक्षको दाबी छ। त्यस्तै महिलाको सद्भाव पनि आफूहरूकै पक्षमा रहने दाबी आचार्य पक्षको छ।
आचार्य पक्षले जानकी गुरुङलाई महासविचमा उठाउने तयारी गरेको छ। यो पक्षबाट डा. केशव पौडेल पनि महासचिवका आकांक्षी छन्। जनजाती, महिला र घले निकट पनि भएकाले पौडेलको आकांक्षाका बाबजुद पनि गुरुङलाई नै अघि सारिने आचार्य पक्षको भनाइ छ। गुरुङ नेपाली कांग्रेसको आन्दोलनमा २००७ सालका सहिद बखानसिंह गुरुङकी नातिनी हुन्।
उता पन्त पक्षले भने महासचिव लगायतका पदाधिकारी कसलाई र कसरी अघि सार्छ भन्ने अझै प्रष्ट भइसकेको छैन।
‘पर्सनालिटी ड्रिभन’बाट राजनीतिक ध्रुवीकरणतर्फ
विगतका चुनावमा राजनीतिक पक्ष पृष्ठभागमै रहेर व्यक्तित्व हावी हुने गरेको भए पनि यसपालीको चुनाव ‘पर्सनालिटी ड्रिभन’बाट राजनीतिक ध्रुवीकरणतर्फ गएको एनआरएनको चुनावलाई नजिकबाट नियाली रहेका ती विश्लेषक बताउँछन्। उनी भन्छन्, ‘पहिले व्यक्तित्व हाबी हुने गर्दथ्यो। यसपटक राजनीतिक रूपमा ‘सार्प डिभिजन’ र डेमोक्र्याट र लेफ्टका नाममा देखिँदै छ।’
एनआरएनएमा संस्थापक अध्यक्ष रहेका उपेन्द्र महतोलाई कांग्रेस र कम्युनिस्ट सबैले समर्थन गरेको, जीवा लामिछाने र भवन भट्टले पनि एक हिसाबले सबैको समर्थन पाएको र शेष घले कांग्रेस निकट भए पनि सफल व्यवसायी भएका कारण सबैले पत्याएको उनको विश्लेषण छ।
डेमोक्र्याटतर्फ झुकाव भएका धेरै प्रवासमा रहने भएकाले यो पनि चुनाव जिताउने एउटा बलियो फ्याक्टर हुने उनको मत छ।
चुनावी अभियानमा कुल आचार्य बीचमा। तस्बिरः आचार्यको फेसबुक पेज
उनी ‘कम्युनिस्टलाई दुई तिहाईको सरकार पनि हाम्रै छ र एनआरएनए पनि हाम्रै हुनुपर्छ’ भन्ने लागिरहेको र 'कांग्रेसलाई यसपटक कम्युनिस्टलाई जितेर देखाउने हो' भन्ने उत्साह रहेको बताउँछन्।
चुनाव भइसकेका र हुन गइरहेका राष्ट्रिय सम्मेलनमा पनि वाम र प्रजातान्त्रिक पक्षधरका नाममा प्रष्ट राजनीतिक ध्रुवीकरण देखिएको छ।
सबैभन्दा धेरै प्रतिनिधि आउने अमेरिकामा आफूहरूले चुनाव जितेको प्रजातान्त्रिक समूहको दाबी छ। युरोपको पोर्चुगलमा सेटै आफूहरूको पक्षमा आएको दाबी आचार्य पक्षको छ। बेलायत र जर्मनीमा चुनाव हुन बाँकी छ। डेनर्माकमा पनि प्रजातान्त्रिक समूहले नै चुनाव जित्ने दाबी आचार्य पक्षको छ।
बेल्जियमा भने दुवै पक्षमा बराबरीजस्तो देखिएको छ। अष्ट्रेलिया र जापानमा पनि प्रजातान्त्रिक समूह नै आउने आचार्य पक्षको दाबी छ। एनआरएनए चुनावमा अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत र बेल्जियमको मत प्रवाभी रहने ठानिन्छ।
दौडधुप बढी, छैनन् एजेन्डा
चुनावका लागि एक महिनाभन्दा थोरै समय मात्र बाँकी रहेका बेला अध्यक्षका प्रतिस्पर्धीहरू भने चुनावी दौडधुपमा जोडतोडका साथ लागेका छन्।
यो अवधिमा पन्तले कतार, मलेसिया, पोर्चुगल, बेल्जियम, डेनमार्कलगायतका देशमा आफ्नो भ्रमण सकिसकेका छन् भने बाँकी ठाउँमा पनि भ्रमण गर्ने योजनामा छन्।
त्यस्तै आचार्यले कतार, मलेसिया, पोर्चुगल, बेल्जियम, डेनमार्क, माल्टा, क्यानडा, आयरल्यान्ड, साइप्रस, अमेरिकालगायतका देशमा भ्रमण गरिसकेका छन्।
चुनावी सक्रियता तीव्र भएपनि चुनावी एजेन्डा भने दुवै पक्षले अहिलेसम्म सार्वजनिक गरेका छैनन्। दोहोरो नागरिकता एनआरएनको सँधैको एजेन्डा हो।
विभिन्न देशमा भइरहका राष्ट्रिय सम्मेलनमा आफ्नो पक्षलाई जिताउन पुग्ने पन्त र आचार्यले त्यहाँ पनि आफ्ना एजेन्डा खासै प्रष्टसँग पस्केको पाइँदैन। हेर्नुछ, यिनीहरू दुवैको चुनावी रूपरेखा अगाडि कसरी बढ्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।