बैतडी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाएका छन्। नेपाली कांग्रेस बैतडी र जिपी कोइराला फाउन्डेसन बैतडीको आयोजनामा गोठलापानीमा पाटी प्रवेश एवम् बृहत् सास्कृतिक कार्यक्रममा प्रमुख अतिथि पौडेलले सरकार गठन भएको १८ महिना बितिसक्दा पनि नयाँ कामको शुरुवात नगरेको टिप्पणी गरे।
‘वर्तमान सरकार झुटा आश्वासन बाड्नमै सीमित छ,’ उनले भने, ‘आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन्। देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ। यो सरकारले अहिलेसम्म एउटा काम पनि सुरु गर्न सकेको छैन।’
दुई तिहाइको वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्न लागेको नेता पौडेलले आरोप लगाएका पौडेलले भने, ‘सुन काण्ड,बालुबटारकाण्ड, वाइडबडी, मेलम्ची, बुढीगण्डकी यी सबै काण्डहरुमा हेर्नुहोस् सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ। यो सरकारको कथनी र करणीमा भिन्नता छ।’
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएपनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको उनको आरोप थियो। ‘पूर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन। तर यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसका घाँटी निमोठ्ने दाउमा लागेको छ। मानव अधिकार आयोग विधेयक ल्याएर मानव अधिकार हनन गर्ने दाउमा छ।’
देशमा आएको व्यवस्था संस्थागत गर्नका लागि अब कांग्रेस एकढिक्का भएर अघि बढ्ने पनि पौडेलले दाबी गरे। उनले भने, ‘अब हामी एकढिक्का भएर अघि बढ्छौं। लोकतन्त्रमा विश्वास गर्ने सबै मानिस एक हुनु जरुरी छ।’
पार्टी प्रवेश गर्नेलाई पौडेलको स्वागत
विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई कांग्रेस केन्द्रीय सदस्य पौडेलले सदस्यता वितरण गर्दै स्वागत गरेका छ। सतारुढ नेकपाका नेता एवं दलित मुक्ती मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहारलगायतलाई पौडेलले पार्टी प्रवेश गराए। दुई दर्जनले पार्टी प्रवेश गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।