काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जारी केन्द्रीय समितिको बैठकमा पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि जनाएका छन्। झुटको खेतिमा लागिरहेको सरकारको प्रतिवाद गर्न पार्टीले नसकेको औंल्याएका छन्।
कोइराला परिवारको विरासतबाट अघि बढेको भनि पार्टीमा हुँदै आएको आलोचनालाई प्रतिवाद गर्दै ‘कसैको दया र मायाले’ नेताको स्थान नबनाएको उल्लेख गरेका छन्। जारी केन्द्रीय समितिको बैठकमा नेता कोइरालाले राखेका धारणाः
१.नेपाली जनता र व्यवसायीहरू करको चरम मारमा परेका छन्।मूल्यवृद्धि आकासिएको छ। किसानका समस्या दिनानुदिन विकराल बन्दै गएको छ। भ्रष्टाचार संस्थागत ढंगले अगाडि बढिरहेको छ। त्यसैको ज्वलन्त उदाहरण हो– वाइडबडी प्रकरण। जनताले सुशासनको कत्ति पनि अनुभूति गर्न पाएका छैनन्।सरकार आर्थिक,सामाजिक र राजनितीक सबै प्रकारले असफल भएको छ। यसप्रति पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न जरुरी छ। देशको अर्थतन्त्र ओरालो लागीरहेको छ।प्रधानमन्त्रीज्यूले आर्थीक वृद्धि दर ७.५ छ भन्नुभएको छ। तर वास्तविक ६.५ मात्रै छ।
सरकार झुट माथि झुटको खेती गरिरहेको छ तर हामीले सरकारका गलत कुरालाई बाहिर ल्याउँन सकिरहेका छैनौं।
२. महिला र पुरुषका बीचमा नागरिकताको समान हक हुने कि नहुने? नेपाली नागरिकसँग बिहे गरेर आएका बिदेशी महिला वा पुरुषलाई कहिले नागरिकता दिने? आमाको नामबाट नागरिकता दिने कि नदिने? बिदेशीलाई यसरी नागरिकता दिंदा कसरी राष्ट्रिय सुरक्षामा कसरी आँच आउँछ? के यसले राष्ट्रियतामा खतरामा पर्छ? नागरिकताका सवालमा बिभेद नगरौं। २०७५ सम्म बिदेसबाट बिहे गरेर आएका महिलाको संख्या ४ लाखको हाराहारीमा छ। गृहमन्त्रालयको रिपोर्ट हेर्ने हो भने २०६४ मा सरकारले २६ लाख ७० हजार नागरिकता बितरण गर्यो। बंशजको आधारमा हिमाल र पहाडमा १३ लाख र तराई-मधेसमा १२ लाखले पाए। १ लाख ७० हजारले जन्मसिद्धको आधारमा नागरिकता पाए।नागरिकताका सवालमा अन्तरिम संबिधानमा जे छ त्यसैमा कांग्रेस अड्नुपर्छ।
३. सरकारले सर्वदलिय बैठक बोलाएर गणतन्त्र,संघियता,धर्म निरपेक्षता र समावेशीतामाथि पूर्व राजा र विप्लव समूहबाट खतरा छ भन्यो तर यिनीहरूबाट भन्दा सरकारमा बसेकाहरूबाटै खतरा छ भन्ने कुरा बुझ्न जरुरी छ।
४. न्यायलयमाथि जनताको विश्वास घटेको छ। सडकबाटै न्याए माग्न थालिएको छ। लोकतन्त्रको लागि अत्यन्तै खतराको संकेत हो।
५. पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधीहरू र पार्टीका बीचमा समन्वय पटक्कै छैन। समय सकिएका सबै भातृ संगठनहरूको विधानअनुसार अधिवेशन गरिनुपर्छ। विपी कोइराला ४५ वर्षमा प्रधानमन्त्री बन्नुभयो, हाम्रा सभापति शेरबहादुर देउवाजी ४९/५० वर्षमा प्रधानमन्त्री बन्नुभयो तर पार्टीको नर्सरी नेविसंघमा विधानले तोकेअनुसार ३२ वर्षभन्दा मुनिकालाई ल्याउन हामीलाई कसले रोक्यो?
६.महिला संघ डडेल्धुराकी सभापतिलाई स्पष्टिकरण पनि नसोधी अधिवेशन गर्न नसकेको भन्दै हटाइयो। यसले पार्टीलाई कमजोर बनाउँछ। पार्टीमा गलत नजिर नबसाऔं। केन्द्रमा यसरी अधिवेशन गर्न नसक्ने कति सभापति छन्? तिनलाई किन नहटाएको?
७.जुन विषयमा मैले नोट अफ डिसेन्ट लेखेको छु त्यो मेरो मुद्दा हो र यसलाई कार्यकर्ता साथीहरू माझ र महाधिवेशनसम्म लैजान्छु। यो विचारको लडाइँ हो।
८.यही केन्द्रीय समितीमा मलाई र डा शशांकलाई लक्षित गरेर ‘व्यवसाय गर्ने अनि बुवा-आमा-काकाको बिरासतमा राजनीति गर्ने’ भनेर भनियो। यसले मलाई दु:खी बनाएको छ। म त चाहन्छु केन्द्रीय समितीका साथीहरू पनि केही न केही व्यवसाय गर्नुहोस्। नेविसंघ लगायत पार्टीको सबै तहका क्रियाशील साथीहरूलाई पनि आत्मनिर्भर र स्वावलम्बनको बाटोमा लैजाऔं।
निरंकुश पञ्चायतकाविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा पटक-पटक प्रहरीको लाठी खाँदै जेल गएका छौं। निरंकुशता विरुद्धको हरेक आन्दोलनमा हामी अग्रपंक्तिमा उभिएका छौं। आन्दोलनको मैदान र जेलमा हुँदै गर्दा कति जना कहाँ हुनुहुन्थ्यो? हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दया र मायाले आएका होइनौं।
९. धर्मका सवालमा हामी संवेदनशील हुन जरुरी छ। राष्ट्रिय जनावर गाई काट्न पाइँदैन भन्नु गलत हो? होलीवाइनको विरोध गर्ने तर संविधानमा लेखिएको- ‘प्रलोभनमा धर्म परिवर्तन गर्न पाईदैन’ भन्नु गलत हो?
पार्टीको १४औं महाधिवेशनमा हिन्दू राष्ट्रको विषय चर्को रुपले उठ्छ। यसलाई कसरी व्यवस्थापन गर्ने हो त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।