काठमाडौं- आन्तरिक विवादमा रुमल्लिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक आज (शुक्रबार) बसेको छ।
शुक्रबार अपरान्ह पार्टी कार्यालय बबरमहलमा राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक हालका संयोजक राजकिशोर यादवको अध्यक्षतामा बसेको हो।
केही दिनअगाडि संयोजक यादवले पार्टीको राजनीतिक समितिको बैठक बोलाएपछि बाँकी नेता संयोजक यादवसँग रुष्ट बनेका थिए। संयोजक यादवले शुक्रबार (आज) र शनिबार दुई दिनका लागि राजनीतिक समितिको बैठक बोलाएका थिए।
सोका लागि विभिन्न जिल्लामा रहेका राजनीतिक समितिका सदस्यहरु काठमाडौं आइसकेका छन्। अध्यक्षमण्डलका अन्य सदस्यहरुसँग सल्लाह नै नगरी बैठक बोलाइएको भन्दै आलोचना भएपछि हाल सो समितिको बैठक मिति नै नतोकी सारिएको छ।
अध्यक्ष मण्डलको बैठक माथिल्लो तलामा चलिरहेको बेला संयोजक यादव भने बैठकका लागि काठमाडौं आएका समिति सदस्यहरुलाई फकाउन अर्को कोठामा जानु परेको थियो।
बैठकपछि सञ्चारकर्मीहरुले पार्टीको आन्तरिक विवादका सम्बन्धमा राखेको जिज्ञाशामा अध्यक्ष मण्डलका संयोजक यादवले बाहिर आएजस्तो केही विवाद नभएको र पार्टीले उठाएका मुद्दा तथा एजेन्डामा सबैजना एकढिक्का भएको प्रतिक्रिया दिए।
राजपाभित्र अहिले समाजवादी पार्टीसँगको एकीकरण र पार्टीको महाधिवेशन गर्ने सम्बन्धमा स्पष्ट २ धार देखिएको छ। समाजवादी पार्टीसँग वार्ता गर्न बनेको समितिको संयोजक रहेका राजेन्द्र महतो, वर्तमान संयोजक यादव र अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्र राय यादव तत्काल वार्ताको पक्षमा छन् भने बाँकी सदस्यहरु पार्टीको अधिवेशन गरेर मात्र औपचारिक प्रक्रिया सुरु गर्ने पक्षमा देखिएका छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।