नेपालगन्ज– गएको वर्षायाममा बाढीबाट क्षतिग्रस्त भएका बाँके र बर्दियाका सात वटा पुलको मर्मत हुन नसकिरहेका बेला ढिलो गरी बजेट निकासा भएको छ।
बाढीले बाँकेमा पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका शम्शेरगन्जस्थित परुवा खोला, खोचे खोला, गाबर खोला, गन्धेली र मुगुवा खोलाको पुल क्षतिग्रस्त भएका थिए। यस्तै, राजमार्ग अन्तर्गत नै बर्दियाको औरी खोला तथा बर्दियाको ओराली खोलाको पुलमा पनि क्षति पुगेको थियो।
पुलमा क्षति पुगेपछि यातायात सञ्चालनका लागि सामान्य मर्मत गरेर एकतर्फी रुपमा यातायात सञ्चालन गरेको ६ महिनापछि बल्ल बजेट निकासा भएको हो।
जम्मा सात वटा पुलको मर्मतसम्भारका लागि भदौ महिनामै सर्भे तथा स्टिमेट गरी १५ करोड बजेट माग गरिएकोमा भर्खरै ३ करोड मात्रै बजेट निकासा भएर आएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुनकुमार बमले बताए।
अर्थ मन्त्रालयबाट निकै ढिलोगरी बजेट निकासा भएर आएकाले पुलको मर्मत तथा पुनर्निर्माणका लागि एक महिनाको अवधि दिएर टेन्डर सूचना निकाल्नुपर्ने, टेन्डरको मूल्यांकन गरी स्वीकृत गर्न करिब थप १५ दिन लाग्ने भएकाले आउँदो वर्षाअघि नै मर्मत कार्य पूरा गर्न गाह्रो हुने देखिएको छ।
माग गरेभन्दा निकै कम तथा मर्मत कार्यमा समय नै नपुग्ने गरी बजेट आएकाले पुलको मर्मत गरी आउँदो वर्षायाममा राजमार्ग सञ्चालन गर्न चुनौती भएको प्रमुख बमले बताए।
बाढीले पुल भत्काएपछि गत वर्षायाममा पूर्व–पश्चिम राजमार्गको लमही–कोहलपुर सडकखण्ड चार दिनसम्म अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन समेत निकै कठिन भएको थियो।
हिउँदको समयमा मर्मतको काम नगर्ने र वर्षा सुरु भएपछि हतारमा काम गरेर बजेट सक्ने परिपाटी यसपाली पनि दोहोरिने देखिएको छ। पूर्व–पश्चिम राजमार्गको लमही कोहलपुर सडकखण्डमा दैनिक करिब १ हजार सवारी साधन आवतजावत गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।