काठमाडौं- गाडी लिएर विराटनगरका विभिन्न स्थानमा लुटपाट गर्ने नेपाली र भारतीय डाँका समूहलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले पक्राउ गरेको यो डाँका समूहले विराटनगरका विभिन्न ठाउँबाट २० लाख ९० हजारभन्दा बढी लुटपाट गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ७ डाँकामध्ये तीन भारतीय र ४ नेपाली रहेका छन्। पक्राउ पर्ने भारतीयमा भारत विहार मधुवनी बस्ने ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता तथा ४४ वर्षीय मो. मोतिउर रहमान छन्।
त्यस्तै पक्राउ परेका नेपालीमा रौतहटको गौर नगरपालिका–३ पोखरिया बस्ने ४१ वर्षीय मो मोहिज धुनियाँ तथा ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका-४ बस्ने ५२ वर्षीय सेख मो. सलिफ र ४६ वर्षीय शेख अलि असगर रहेका छन्।
उनीहरुलाई मोरङको शनिश्चरे नगरपालिका-१ स्थित इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो।
उनीहरुको साथबाट बिआर ३२ पिए २८३६ नम्बरको स्कोर्पियो गाडी, विभिन्न कम्पनीका मोबाइल ७ थान, नेपाली नगद १२ हजार ८ सय ५० रुपैयाँ, भारतीय नगद ११ हजार ४ सय १० रुपैयाँ, नेपाली सिमकार्ड १ थान, भारतीय सिमकार्ड ९ थान, फलाम काट्न प्रयोग हुने कटर मेसिन १ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ।
अनुसन्धानको क्रममा अभियुक्तहरूले भारत सीतामढीमा विराटनगरमा डकैती गर्ने योजना बनाई नेपाल प्रवेश गरेको खुल्न आएको प्रहरीले बताएको छ।
.jpg)
मोरङ विराटनगर महानगरपालिका–२ शनिहाटमा रहेको पन्चकन्या ट्रेड लिंकमा गत साउन २३ गते सटर फुटाई ५ लाख ९५ हजार रुपैयाँ, सोही महानगरपालिकामा रहेको गणनायक मार्केटिङ हाउस (किराना पसल) बाट सोही दिन सटर फुटाई ४ लाख रुपैयाँ उनीहरुले लुटेका थिए ।
त्यसैगरी विराटनगर महानगरपालिका–७ कदमाह कृषि सहकारी संस्था लिमिटेडमा भदौ १ गते सटर फुटाई ४ लाख ९५ हजार रुपैयाँ र विराटनगर महानगरपालिका–७ स्थित माँ भवानी इन्टरप्राईजेजबाट भदौ १० गते सटर फुटाई ६ लाख रुपैयाँ डाँका गरी लगेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सातै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँकासम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।