काठमाडौं- कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका प्रधानमन्त्री केपी शर्मा ओली आफैं मन्त्रिपरिषद् बैठकमा सहभागी हुनु संवैधानिक र कानुनी प्रक्रियागत रुपमा त्रुटि रहेको कांग्रेसले जनाएको छ।
केन्द्रीय समिति बैठक स्थगित भएसँगै पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिपरिषदको भिडियो कन्फ्रेन्स भएको बैठकप्रति आपत्ति जनाए।
भिडियो कन्फ्रेन्समार्फत् गरिएको बैठकले गोपनीयता भंग हुन सक्ने बताउँदै प्रवक्ता शर्माले भने, ‘न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्छ।’ मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि हलुका ढंगले संशोधन गर्ने परिपार्टीले भविष्यमा बेथिति ल्याउने दाबी उनको थियो।
प्रविधि प्रयोग गरिएका कतिपय अभ्यासको गोपनीयता भंग हुने गरेको भन्दै मन्त्रिपरिषद् बैठकजस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि केन्द्रीय कार्य समितिको बैठक बिहीबारका लागि सारिएको छ।
बिहीबार अपरान्हसम्मका लागि बैठक स्थगित भएको छ। बैठकमा समयावधि सकिएका भात्तृसंस्थाहरु गठन, पूर्णता र जनसम्पर्क समितिलगायतका विषयमा छलफलका गर्ने एजेन्डा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।