काठमाडौं- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले वर्तमान सरकार पूर्ण असफल हुने ठोकुवा गरेका छन्। नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका रिजालले सरकार आफू असफल भएसँगै लोकतान्त्रिक मूल्य मान्यता पनि सिध्याउने चिन्ता रहेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट मन्त्रिपरिषदको बैठक गर्नुलाई आफ्नै मन्त्रिपरिषदप्रति विश्वास नभएको रिजालको तर्क थियो। उनले भने, 'रहरले देश चल्दैन। मन्त्रिपरिषदको बैठक भिडियो कन्फरेन्सबाट गर्नु रहर हो।’
कार्यावाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद् डाक्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै रिजालले भने, ‘प्रधानमन्त्रीलाई म बाहेक अरुबाट हुँदैन भन्ने भ्रम छ। मेरो विकल्प छैन भन्ने उहाँको मानसिकता छ।’
सरकारसँग संख्याको बल भए पनि संख्यासँग डराएको उनले आरोप लगाए। संसदलाई छलेर सरकार अघि बढेको उनको तर्क थियो।
राष्ट्रिय मानवअधिकार आयोगलाई स्वतन्त्र निकायलाई महान्यायाधिवक्ताको कार्यालयको मातहत ल्याउन खोजिएको प्रति पनि उनले आपत्ति जनाए। मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले स्वतन्त्र प्रेसलाई कुन्ठित गर्ने उनको भनाइ थियो। सरकारले चाहेको व्यक्ति मिडिया काउन्सिलको पदाधिकारी बनाउने र हटाउन पाउने प्रावधान राखिएको प्रति नेता रिजालले आपत्ति जनाए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।