काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सघनरुपमा देशव्यापी प्रशिक्षण अभियान सुरु गरेको छ।
गत साउनमा काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षकहरु अहिले जिल्लास्तरीय प्रशिक्षणको निमित्त जिल्ला-जिल्लामा खटिएका छन्।
भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ अभियान सुरु गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बर्तौलाका अनुसार मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भइसकेको छ भने यो साताभित्र गोरखा, लमजुङ, झापा, बैतडी, पाँचथर, सुनसरीमा प्रशिक्षण तय गरिएको छ।
प्रशिक्षण विभागका प्रमुख एवं पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण, वर्ष २०७६ को कार्ययोजना, संगठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक वैचारिक पक्ष, सक्रीय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइनेछ।
पाठकका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको प्रशिक्षणको पनि मिति तय भइसकेको छ। असोज महिनामा स्थानीय तहहरुमा प्रशिक्षण सञ्चालन गरिनेछ। पार्टी अध्यक्ष कमल थापा अर्को हप्ता पार्टी कार्यक्रमको निमित्त नवलपरासी, रुपन्देही, कपिलवस्तु र मकवानपुरको भ्रमणमा जाने राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।