काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पार्टीका अन्य सदस्यको सार्वजनिक आलोचना गर्न नपाउने भएका छन्।
पार्टी मुख्यालय धुम्बाराहीका सोमबार बसेको सचिवालय बैठकले सदस्यहरुले आफ्ना कुरा पार्टीभित्र मात्रै उठाउनुपर्ने निर्णय गरेको हो।
'हाम्रो पार्टीको नेता, कार्यकर्ता वा अन्य सदस्यहरुको बारेमा पार्टीको केन्द्रदेखि तलसम्मका कुनै सदस्यहरुले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र तथ्यसंगत ढंगले आफूलाई लागेका कुराहरु उठाउनुपर्ने छ', बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'पार्टीभित्र छलफलको विषय बनाउनुपर्ने छ।'
उनका अनुसार, पार्टीभित्र कुरा नराखी सार्वजनिक रुपमा लगिएमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिनेछ।
चार जना थपिएपछि नेकपा केन्द्रीय समिति सदस्य ४४५
बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
यससँगै नेकपाको केन्द्रीय सदस्यको आकार ४ सय ४५ भएको छ।
'हाम्रो पार्टीको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट प्रतिशतसम्म केन्द्रीय सदस्यमा समावेश गर्न सकिने भन्ने प्रावधान छ', बैठकपछि प्रवक्ता श्रेष्ठले भने, 'त्यही प्रावधान अन्तर्गत चार जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।'
सोमबार थपिएका केन्द्रीय सदस्यहरुः
देवेन्द्र पराजुली
कल्पना धमला
पदम राई
किरण राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।