काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने भएको छ।
एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच मंगलबार भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवर्द्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए।
कोषको स्थापनाका लागि सरकारी निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब काम गर्ने समय आएको बताए।
एनआरएनले पछिल्लो समय गोरखा भूकम्पबाट क्षतिग्रस्त लाप्राकमा नमुना बस्ती निर्माण गरिरहेको छ। कुल ३ सय २७ घरको पुनः निर्माणको काम अगाडि बढेको सो अवसरमा जानकारी दिइएको थियो।
एनआरएनका प्रवक्ता भूषण घिमिरेले एनआरएनले हालसम्म गर्दै आएका गतिविधिबारे सो अवसरमा जानकारी गराएका थिए।
एनआरएनले बाग्मती किनाराको शंखमूल क्षेत्रमा ३२ रोपनी जग्गामा उद्यान निर्माण गरिरहेको छ। सो परियोजनाको निर्माण लागत करिब दुई करोड २५ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।