रसुवा- कामदारलाई ज्याला दिन पठाइएको ४ लाखभन्दा बढी रकम बोकेर रसुवामा कार्यरत एक इन्जिनियर बेपत्ता भएका छन्।
निजी आवास निर्माणका लागि प्राप्त ४ लाख ९५ हजार रकम बोकेर ट्रेनिङ सेन्टर नेपालका रितेश कुमार यादव भागेका हुन्।
जिल्लाको धुन्चेस्थित नागुङ र ठाडेमा कामदारका लागि पठाइएको रकम लिएर यादव सोमबारदेखि बेपत्ता भएको सेन्टरले जनाएको छ।
संस्थाले उनलाई उपलब्ध गराएको बा ७७ प ७५८० नम्बरको मोटरसाइकल भने स्थानीयले नियन्त्रणमा लिएका छन्। संस्थाका अनुसार इन्जिनियरले फोन उठाएका छैनन्, चिन्ता नगर्नु भनेर म्यासेज गरेका छन्।
जिल्लामा कार्यालय स्थापना नगरी धमाधम घर निर्माण गरिरहेको संस्थाले इन्जिनियरले रकम लिएर भागेपछि काम गर्न आएको भन्ने तथ्य बाहिर आएको हो। इन्जिनियर भागेपछि संस्थाले प्रहरीमा उजुरी दिएको र केन्द्रबाट पनि खोजी कार्य सुरु गरेको बताइएको छ।
जिल्लाको तीन वटा स्थानीय तहमा ४० वटा निजी आवास निर्माण गरिरहेको जनाएको छ। जिल्लाको धुन्चे, स्याफ्रु, धैबुङ, ठुलोगाउँ र राम्चेमा ९/९ वटा निजी आवास निर्माण गरिरहेको संस्थाले जनाएको छ। तीन महिनाअगाडि जिल्ला आएको संस्थामा तीन जना कार्यरत छन्।
जिल्लाको कुनै पनि सरकारी निकायसँग समन्वय नगरी आवास निर्माण गरिहेको संस्थाले आगामी तीन महिनामा घर निर्माण गरिसक्ने लक्ष्य राखेको छ। जिल्लामा त्यो संस्था दर्ता नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।