काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै सहिद बन्न योग्य हुने यथार्थलाई सधैं ख्याल गर्नुपर्ने बताएकी छन्।
सहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले ज्ञातअज्ञात सहिदको सपना साकार पार्न दिवसले अभिप्रेरित गरोस् भन्ने कामना पनि गरेकी छन्।
इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको योगदानको प्रतिफलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनले उल्लेख गरेकी छन्।
न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्नेमा पनि उनले जोड दिएकी छन्।
यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने सहिदको सपना साकार पार्न एक भएर लाग्न सबैलाई आग्रह गरेका छन्।
सबैखाले आन्दोलनमा नेपाली वीर सपुतको बलिदानी रहेको स्पष्ट पार्दै उपराष्ट्रपति पुनले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको बलिदान दिने सहिदको योगदानको उच्च मूल्यांकन गर्नुपर्ने उल्लेख गरेका छन्।
पछिल्लो चरणमा भएका निर्वाचन र त्यसपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेसँगै शहीदका सपना पूरा हुँदै गएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।