काठमाडौं- कीर्ते गरी सरकारी तथा गैरसरकारी संस्थाका छाप बनाउने २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ३३ वर्षीय विनोद बरुवाल र काठमाडौं-१५ घर भई नागार्जुन-५ बस्ने ३३ वर्षीया रेनु लामा छन्।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो। उनीहरुले सरकारी तथा गैरसरकारी कार्यालयको छाप कीर्ते गरेर बनाएँदै आएका थिए।
उनीहरुले विगतमा पनि मेजुकी जापनिज ल्याङ्वेज इन्टिच्युट सञ्चालन गरेर विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका छापहरु कीर्ते गरेर बनाउने गरेका थिए।
प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा जारी भइरहेको १७ थान राहदानी, विभिन्न विद्यार्थीहरुको नामसहितको विवरण भएको रजिस्टर ४ थान, विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयको नाम भएको ३९ थान रबर छापहरु,११ थान पेनड्राइभ र विभिन्न व्यक्तिको नाममा जारी भएको प्रमाणपत्र बरामद गरेको छ।
पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।