काठमाडौं- प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न समयमा जीवन आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै छ।
माघ १० मनाउने सहिद सप्ताहको अन्तिम तथा मुख्य दिन सहिदको बलिदानलाई विशेष रुपमा सम्झना गरी विभिन्न कार्यक्रम गरिँदै छ। राणा शासनको बेला नागरिक स्वतन्त्रताको माग गर्दा विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो।
२०१२ देखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो।
सहिद दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्तिवाटिकादेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ। यसैगरी अपराह्न ज्ञात-अज्ञात सहिदहरुको सम्झनामा काठमाडौं उपत्यकाको गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारकमा कार्यक्रम गरिँदै छ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेको र स्मारक निर्माणपछि सहिदगेटका चार सहिदको सालिक पनि गोकर्णमै स्थानान्तरणका लागि सरकारी निर्णय भएको स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए। स्मारक २०७५ बैशाखदेखि सञ्चालनमा ल्याउने मन्त्रालयको योजना छ।
गोकर्णको जगडोल सामुदायिक वनको ६ सय ५० रोपनी क्षेत्रफलमा सहिद संग्रहालय, सहिदसम्बन्धी अध्ययन-अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालय लगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।