काठमाडौं- गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका आइजिपीद्वय क्रमशः सर्वेन्द्र खनाल, शैलेन्द्र खनालसँगच कार्यसम्पादन सम्झौता गरिएको छ।
गृहमन्त्री राम बहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा सोमबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
उक्त अवसरमा गृहमन्त्री थापाले सम्झौताले आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकोले उत्कृष्ट नतिजा ल्याउन खरोरुपमा उत्रिन संकल्प गर्नुपर्ने बताए।
राज्यले लक्ष्य राखेको विकास र समृद्धि हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए।
गृहमन्त्री थापाले सम्झौता हामीले गर्ने कामको एक विधिको साथै क्षमताको मूल्यांकनको आधार भएकोले राम्रो काम गरे राम्रो मूल्यांकन, वृत्ति विकास र नेतृत्व विकास हुने धारणा राखे।
गृहसचिव राईले विगतमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायी भएको चर्चा गर्दै आफ्नो कामलाई प्रणालीगत रूपमा अगाडि बढाएमा लक्ष्यमा पुग्न सफल भइने उल्लेख गरे। राज्यको लक्ष्य पूर्ति गर्न सबैले समान योगदान दिनुको साथै सम्झौता बमोजिम काम गर्न क्रियाशील हुनुपर्नेमा उनले जोड दिए।
सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिवद्ध, कानुन कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवम् नतिजामा उत्तरदायी बनाउन तोकिएको कार्य समय, पदीय अधिकारको सीमामा रहँदै समग्रमा जनता र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।
सिर्जनशीलता अभिवृद्धि गर्न 'गृह प्रशासन सुधार कार्ययोजना, २०७४' र 'सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४' को व्यवस्था समेतका अधिनमा रहेर गृह मन्त्रालयको समग्र कार्यसम्पादनको स्तर बढाउन आन्तरिक क्षमता सुदृढ गर्ने अभिप्रायका साथ आइजिपीद्धयसँग सम्झौता गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।