काठमाडौंको नागढुंगाबाट पेस्तोल र गोलीसहित एक पक्राउ

नेपाल लाइभ | २०७६ श्रावण ३२ शनिबार | Saturday, August 17, 2019 १९:२३:०० मा प्रकाशित

काठमाडौं- काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित आज एक जना पक्राउ परेका छन्।

ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई थान र गोली २० राउण्डसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

धादिङबाट काठमाडौँ आउँदै गरेको बा२ख १९८० नंको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोलामा पेस्तोल र गोली फेला परेको हो। लामाको साथबाट बाइनाकुलर र पाँच मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। 

उनलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।-रासस