जनकपुर- भारतबाट अवैध रुपमा चाँदी ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत जयनगर भेलवा चोक बस्ने २७ वर्षीय बन्धुकुमार सिंहलाई पक्राउ गरेको छ।
शनिबार उनलाई गस्ती टोलीले औरही गाउपालिका-२ देउरीबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।
अवैध रुपमा ल्याइएको (१५ केजी चाँदी) १० लाख ९३ हजार १ सय १० मूल्य बराबरको रहेको उप्रेतीले बताए। यसका साथै पक्राउ परेका सिंहको साथबाट ज ८ प ९२३५ नम्बरको डिस्कोभर मोटरसाइकल समेत बरामद भएको छ।
पछिल्लो समय धनुषामा अवैध रुपमा चाँदी तस्करको बिगबिगी रहेको छ। सशस्त्र प्रहरी बल धनुषाले ८ महिनाभित्रमा करिब ३३ किलोग्राम अवैध चाँदी बरामद गरेको छ।
विभिन्न समयमा अवैध रुपमा विभिन्न ठाउँ लैजाँदै गरेको चाँदीसहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएतापनि चाँदी तस्करीमा भने कमी आएको छैन।
यसअघि सशस्त्र प्रहरी धनुषाले जेठ २४ गते जनकपुरधाम वडा नम्बर २३ बिन्धीबाट १२.७ किलोग्राम र २०७५ साल मंसिर ५ गते जनकपुरधाम वडा नम्ब २५ लोहनाबाट ५ किलोग्राम चाँदी अवैध रुपमा लैजाँदै गर्दा नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।