मलाई दिइएको निर्देशन अनुसार नै म 'इन्छन अन्तर्राष्ट्रिय विमानस्थल'मा पाइला मात्र हाल्दै के थिएँ, एउटी लुरी केटी 'नमस्कार, म अनामिका काफ्ले' भन्दै मेरासामु आई ।
नमस्कार फर्काएँ । तर मैले आफ्नो परिचय दिनु जरूरी ठानिनँ । औपचारिकता स्वरूप थोरै मुस्कुराएँ र प्रश्न गरें- 'कस्तो भयो त यात्रा?'
...
केहीछिन हामी विमानस्थलमै बसेर खाजा खाएपछि रेल स्टेसनतिर लाग्यौं।
अनामिका सौल नेसनल युनिभर्सिटीमा स्नाकोत्तरको लागि आएकी विद्यार्थी हो । यो कुरा मलाई उसका आफन्तले भनेका थिए । उनीहरुले विमानस्थलबाट रिसिभ गरेर युनिभर्सिटीसम्म पुर्यााउने जिम्मेवारी पनि दिएका थिए।
मैले उसलाई युनिभर्सिटी पुर्याइदिएँ । उसको प्रोफेसरलाई भेटाइदिएँ । होस्टलमा पुर्यायएर केही जिन्सी सामान र अन्य मालमत्ता किन्न सहयोग गरेँ । बेलुकातिर कम्पनीमा फर्किएँ।
त्यसपछि एक हप्तासम्म अनामिकासँग मेरो सम्पर्क भएन । हप्ता दिनपछि म उसको होस्टल पुगेँ।
त्यो हप्ता दिनभर दोङदेमुनका नेपाली पसलमा गएर हामीले सिमकार्ड र चिउरा, दाल लगायत केही खाद्य पदार्थ किन्यौं।
बेलुका अनामिकालाई उसको होस्टलमा पुर्या एर म फर्किएँ । उसले पहिलो भेटमै अलिक खुलेर 'तपाईं नै हो मेरो अभिभावक, म त के जानूँ र नयाँ ठाउँमा ?' भनेकी थिई । त्यही अभिभावकको भारा तिर्नलाई भए पनि मैले उसलाई सहयोग गर्नुपर्थ्यो । गरेँ ।
दोस्रो पटक होस्टेलमा छोडेर आएको ठीक ६ दिनपछि शनिबार अनामिकाले मलाई फोन गर्दै भनी- 'घरको खूब याद आइरहेको छ । के तपाईं मेरो रूममा आज आउन सक्नुहुन्छ ?'
रातबिरात कुनै केटीले उसको कोठामा बोलाउँछे भने तपाईं के सोच्नुहुन्छ? केटी निकै चालू टाइपकी रै'छे, सायद यस्तै सोच आयो होला।
तर, मैले तपाईंले जस्तो सोचिनँ । परदेशको ठाउँमा नयाँ मान्छे, बिचरी अभरमा परी होला भनेर म उसको कोठामा गएँ।
त्यो रात उसकै कोठामा बसेर भोलिपल्ट चिल्ड्रेन पार्क घुमाइदिएँ।
फेरि तेस्रो शनिबार पनि उसले अस्ति जस्तै फोन गरेर बोलाई । म गएँ।
चौथो हप्ताको शनिबार पनि उसले बोलाई । हिजो पाँचौं शनिबार पनि उसरी नै निम्ता गरी । म गएँ।
दिनभर हामी सौल घुम्यौं । उसलाई होस्टल छाडेर म कम्पनीमा पुगेको मात्र के थिएँ, भाइबरमा एउटा म्यासेज हुत्तिएर आइपुग्यो । अनामिकाले पठाएकी रै'छे । कौतुहल जाग्यो । म्यासेज खोतल्न थालेँ ।
...
प्रिय विवश !
आजसम्म तपाईं भनिराखेकी थिएँ । आजबाट तिमी भन्छु । नरिसाऊ है ।
विवश, मलाई केटा मान्छे कहिल्यै मन परेन । देख्यो कि रिस मात्र उठ्छ । केटाहरू एकदमै नराम्रा स्वभावका लाग्छन् । मुख्य कुरा केटाहरूले म जस्ता केटी देख्नै हुन्न, चान्स मारिहाल्छन् । गाडीमा चढ्यो भने नानाभाँती बहाना बनाएर कष्टकर यात्रा गरिरहेका नारीका वक्षस्थलमा हातका पञ्जा नभए पनि कुइनो ठोक्काउँछन् । भीडको बहाना गरेर पुठो ठोकाउँदै ढेस्सिन आइपुग्छन् । त्यति मात्र नभएर लाइन मार्न थाल्छन्।
सडकतिर एक्लै हिँड्दै गरेको छोरीमान्छे देख्यो भने केटाहरू पिछा गर्छन् । मौका मिले अपहरण गरेर बलात्कार गर्न पनि पछि पर्दैनन्।
केटाको कुरा छाडौं, समग्र लोग्नेमान्छे उस्तै हुन्छन् । कतिसम्म भने, मेरा बुबाले ममीलाई खाना मीठो बनाइनस् भनेर कैयौंबार पिटेको देखेकी छु।
पैसाको प्रलोभन देखाएर नारीहरूको शरीर किन्ने लोग्नेमान्छेहरू छन् यो धरतीमा । वास्तवमा नि विवश, पुरूषहरू जंगली ब्वाँसाहरू जस्तै लाग्छन् मलाई । आलो रगत तनतन पिउने र अघाएपछि छाडिदिने।
विवश, जुन दिन तिमी मलाई विमानस्थलमा रिसिभ गर्न गएका थियौ, थाहा छ ? सबैभन्दा पहिले मैले तिम्रो अनुहार पढेकी थिएँ । कुनै राम्री केटी देख्यो कि मुसुक्क मुस्काइदिएर छोरी मान्छेलाई आफ्नो पञ्जामा पार्ने पुरूषको बानी हुन्छ । तिम्रो फिस्टे मुस्कान पनि ठीक त्यस्तै थियो।
त्यतिखेर तिमीले मलाई नसोधीकनै मेरो लगेज घिसारेको याद छ ? नसोधीकन अर्काको सामान छुने कस्तो बानी तिमी केटा मान्छेहरूको ! त्यसपछि तिमीले यात्रा कस्तो भयो भनेर प्रश्न गर्यौै । याद छ होला, मैले तिम्रो प्रश्नको कुनै जवाफ दिएकी थिइनँ ।
ग्राउन्ड फ्लोरबाट ठर्ड फ्लोरमा पुगेपछि तिमी 'भोकायौ होला, पख है म केही लिएर आउछु' भन्दै सियुतिर पसेका थियौ । भोकभन्दा पनि भर्खर जहाजबाट झरेकाले मलाई फ्रेस हुन मन लागेको थियो।
सायद म त्यसरी कुनै साथीलाई लिन म गएकी भए सबैभन्दा पहिले उसलाई फ्रेस होऊ भनेर वासरूम देखाईदिन्थेँ । तर, तिमीले त मलाई इम्प्रेस पार्न जुसको कप र केक पो थमायौ।
म वासरूम जानेबेला मैले मेरो ह्यान्डब्याग बेन्चमा राख्दा हत्त न पत्त तिमीले आफ्नो हातमा लिएका थियौ । मैले त्यतिखेर नाक खुम्च्याएकी थिएँ । तिम्ले चान्स मार्ने ध्याउन्नमा मैले नाक खुम्च्याएको पत्तै पाएनौ!
पहिलोपटक मैले कस्मेटिक्स किड लैजान बिर्सिएर दोस्रो पटक वासरूम गएर आँउदै गर्दा तिम्ले मेरो छाती हेरेर मेरो सौन्दर्यको तारिफ गर्दै थियौ।
रेल चढ्नुभन्दा अगाडि टिकट किन्न जाँदा तिमीले 'तिमी नयाँ मान्छे, भाषा बुझ्दिनौ' भनेर जब आफैं टिकट किन्न तम्सिएका थियौ, मैले पछाडिबाट तिमीलाई नियालिरहेकी थिएँ । त्यतिबेला तिमीले टिकट मेसिनमा अंग्रेजी भाषा प्रयोग गरेका थियौ । के म अंग्रेजी पढ्न जान्दिनँ थिएँ र विवश?
केही वर्षअघि जब म बिएस्सी पढ्न भनेर त्रिचन्द्र क्याम्पस गेटबाट भित्र छिर्दै गर्दा एक जना केटाले तिमीले जस्तै औपचारिकता देखाएर मलाई कक्षाकोठामा पुर्यापइदिएको थियो । पछि त्यही केटा मलाई लाइन मार्न थाल्यो । तिमी र त्यो केटामा धेरै समानता पाएँ मैले।
विवश, मेरो प्रोफेसर अंग्रेजी राम्रो बोल्न जान्दछ । मैले कोरिया आउनुभन्दा पहिल्यै कैयौंबार उसँग अंग्रेजीमा कुरा गरिसकेकी थिएँ र त्यो दिन पनि अंग्रेजीमा कुरा गरेर आफ्नो गन्तव्यमा पुग्न सक्थेँ । तिमीले त कत्ति न जान्ने पल्टेर कोरियन र अंग्रेजी मिसाएर बोलिटोपल्यौ।
खासमा भन्नुपर्दा नि विवश, तिमीले रेल चढाइदिएर झर्ने ठाउँ बताइदिएको भए तिम्रो जिम्मेवारी पूरा हुन्थ्यो । म आफैं आफू हिँड्ने गोरेटो खन्न सक्थेँ । तर, तिमी केटाहरू चाहिएभन्दा बढी स्वाङ किन देखाउँछौ ? मैले बुझ्न सकेकी छैन।
जे होस्, पहिलो दिन तिमीले सहयोग गरेर मलाई धेरै राहत मिल्यो।
हप्ता दिनपछि तिमी सिमकार्ड दिने बहाना बनाएर मलाई नसोधीकनै मेरो रूममा आइपुग्दा मलाई खूबै अचम्म लागेको थियो । खासमा म कुनै केटाहरूलाई दोस्रोपटक भेट्दिनँ । तिमीले त्यो दिन मेरो कोठामा आउनुपूर्व सोधेको भए पर्दैन भनेर जवाफ दिने थिएँ । खासमा मलाई एक अफ्रिकन साथीले सिमकार्ड पनि उपलब्ध गराइसकेको थियो । तर, तिमी खबरै नगरी मेरो कोठामा आयौ । एक मन त ढोकाबाटै तिमीलाई फर्काइदिम् झैं लाग्यो ।
फेरि अर्को मनले तिम्रो परीक्षा लिने चाह गर्योद । त्यही परिक्षाको पहिलो प्रयास थियो, तिमीलाई मैले अभिभावक भनेर सम्बोधन गर्नु । एउटा लोग्नेमान्छे बिना अनुमति केटीको कोठामा आउँछ भने उक्त केटाको नियत जे पनि हुनसक्छ । मैले पनि तिमीलाई त्यही शंकालु नजरले हेरेँ।
एनि वे दोस्रोपटकको भेट पनि उपलब्धिपूर्ण नै भयो।
तेस्रो पटक भने म आफैंले तिमीलाई मेरो कोठामा निम्ता गरेकी थिएँ । निम्ता भन्दा पनि परीक्षा लिएकी थिएँ । म पूर्ण विश्वस्त थिएँ, दिनभर कामले थाकेको तिमी मेरो कोठामा ३ घन्टा लामो रेलयात्रा गरेर आउनेछैनौ । तर, कुरा अर्थोकै भैदियो । तिमीले त एक वचनमै आउने सहमति पो जनायौ । तब मलाई फसाद पर्यो । तिम्रो नियतप्रति त मलाई पहिलो भेटदेखि नै शंका थियो, त्यसमाथि आफैंले रातको समयमा बोलाएँ । तिमीसँगको फोन वार्ता टुंग्याएपछि एकछिन त म डरले थुरथुर कापेँ।
त्यसपछि कोठा नियालेँ । यौटा सिङ्गल बेड, एकजोर बेडिङ । मान्छे २ जना । अब तिमीलाई कता सुताउने ? तिमीलाई सुताएर म हेरेर बस्ने रातभर ? या त म सुतेर तिमीलाई हेर्न लगाउने ? कि दुवैजना नसुत्ने ? खूब तनाव भएको थियो।
सोचेँ- 'पाहुना बोलाएपछि खान त दिनैपर्यो ।' अनि मैले जसोतसो मन थामेर खाना पकाएँ । मलाई थाहा छ, म खाना मीठो पकाउँछु । तर, त्यसदिन जानाजान मैले खाना नमीठो पकाएँ, ताकि तिमीले खानाको बहाना गरेर मसँग नजिक हुन नपाऊ।
राति नौ बजे जब तिमी हँसिलो मुहार लगाएर मेरो कोठामा पस्यौ नि, तब मलाई लागेको थियो जानाजान म आफ्नो लागि आफैं खाल्डो खन्दै छु । तैपनि मसँग विकल्प थिएन ।
खाना खाइसकेपछि म बेडमा बसेर रोएकी थिएँ नि, थाहा छ तिमीलाई?
हो, त्यतिखेर 'सुरू-सुरूमा घरको सम्झना आउँछ, आत्तिनु हुँदैन, परदेशमा केही परे म छु' भनेर क्या सानसँग मेरो मन तिमीतिर तान्न खोजेका थियो है ?
तर विवश, म त्यतिखेर होमसिकका कारण रोएकै थिइनँ।
थाहा छ विवश ? म आजसम्म भर्जिन छु । मैले केटा मान्छेबाट आफूलाई सुरक्षित राख्न धेरै कष्ट सहेकी छु । तर, त्यो दिन तिमीलाई राति बोलाएर मैले आफैंले वर्षौंदेखि जोगाइराखेको कुमारीत्व गुम्न सक्ने चिन्ताले भक्कानिएर रोएकी थिएँ।
जब तिमी पाइन्ट फेर्छु भनेर वासरूम गयौ नि, मैले ढोका थुनेर छिटछिटो तिम्रो ब्याग हेरेकी थिएँ । ब्यागमा पर्स राख्ने तिम्रो बानी रै'छ । ब्यागमा पर्स देखेपछि मेरो नजर तिम्रो पर्समा गयो । मैले छिटछिटो तिम्रो पर्स खोतलेँ । तिमीले त तिम्रो पर्समा २ वटा कण्डम पो बोकेका रै'छौ । त्यसपछि म पूर्ण विश्वस्त भएकी थिएँ, तिमीले आज मलाई आक्रमण गर्छौ भनेर।
तिमी वासरूमबाट फर्कन नपाउँदै मैले तिम्रो ब्याग यथावत् राखेको थिए । राति तिमीले केही गर्यौव भने आफू जोगिन प्रतिरक्षाको लागि सिरानीमुनि चक्कु लुकाउन पनि भ्याइसकेकी थिएँ । पछि तिमीले पनि चक्कु देखेर 'किन राखेको?' सोधेका थियौ । मैले त्यतिखेर सहज जवाफ दिएकी थिएँ- 'भूतप्रेतले दु:ख नदेओस् भनेर।'
सुनेकी थिएँ- विदेशमा बस्ने नेपाली केटाहरू त निस्ताएका हुन्छन् । केटी मान्छेको गन्ध सुँघ्न नपाउदै हिंस्रक भइहाल्छन्।
त्यो रात तिमीसँग म बोल्दाबोल्दै निदाएको याद छ तिमीलाई ? खासमा त्यतिखेर म निदाएकै थिइनँ, निदाएको बहाना मात्र गरेकी थिएँ । तिम्रो खास नियत जाँच्नु जो थियो।
त्यसपछि तिमीले मलाई निदाएको देखेर सरक्क सुतायौ । कोठाको बत्ती निभायौ र आफू पनि सुत्यौ।
अचम्म ! मलाई विश्वासै लागेको थिएन, तिमी चुपचाप सुत्छौ भनेर । तिमी निदाइसकेपछि मैले तिमीले निदाएको बहाना त गरेका हैनौ कतै भनेर जाँचेकी थिएँ।
भोलिपल्ट बिहान तिमीभन्दा करिब दुई घन्टा अगाडि नै म ब्युँझिएकी थिएँ ।
ब्युँझिन नपाउँदै मैले आफूलाई मजाले नियालेकी थिएँ- 'कतै राति तिमीले बेहोश हुने औषधि प्रयोग गरेर मलाई केही त गरेनौ ?' त्यति मात्र होइन, कतै तिम्रो वीर्य सुकेर मेरो शरीरमा टाटा परेको त छैन ? वासरूममा गएर मैले आफ्नो शरीर चेक पनि गरेकी थिएँ।
थाहा छ विवश ? मैले जिन्दगीमै पहिलोपल्ट त्यो दिन भगवानलाई धन्यवाद दिएकी हुँ । मैले त्यतिखेर आफूलाई सुरक्षित पाउँदा संसार जितेको अनुभूति गरेकी थिएँ । वासरूमबाट फर्केपछि भने मैले तिम्रो अनुहार नियाल्न थालेँ । अरू केटा मान्छेकै जस्तो झुस्स परेको दाह्री, छोटो कपाल र अरमट्ठिएको अनुहार थियो तिम्रो।
थाहा छ विवश ? त्यतिखेर तिम्रो मुहार नियाल्दै गर्दा तिमी केटा मान्छे नै हो भन्नेमा मलाई शंका लागेको थियो । कतै तिमी शारीरिक संसर्गको लागि असक्षम पुरूष त होइनौ ? या त समलिङ्गी हौ ? एउटी लक्का जवान केटीसँग छातीमा छाती जोडेर सुत्दा पनि किन तिमीले आफ्नो पुरूषार्थ देखाएनौ?
त्यसपछि चाहिँ तिमी मलाई इन्ट्रेस्टिङ लाग्न थाल्यौ ।
भोलिपल्ट मैले तिमीसँग घुम्दा कैयौंबार तिम्रो शरीर नियालेकी थिएँ । मलाई जान्न मन थियो तिमी कस्तोखाले पुरूष हौ भनेर!
अर्को शनिबार पनि मैले तिमीलाई कोठामै बोलाएँ । तिमी नाइँनास्ती नगरी आयौ । त्यो दिन पनि तिमीसँग बोल्दाबोल्दै म निदाएकी थिएँ । निदाएको बहाना गरेकी थिएँ । त्यसपछि तिमी पनि सुतेका थियौ । तिमी निदाएपछि चाहिँ उठेर मैले तिमीलाई चेक गर्ने प्रयास गरेकी थिएँ । तर, कतै तिमी ब्युँझिहाले के हुन्छ भन्ने डरले चेक गर्न भने सकिनँ । राति सुत्दा खुट्टा बोकाएको बहाना गरेर तिम्रो लिङ्गको अवस्था खुट्टाले छाम्ने असफल चेस्टा पनि नगरेकी होइन।
दोस्रो रात पनि तिमीले मलाई केही नगरेपछि तिमीप्रतिको मेरो अनुमान बढेर ५०/५० प्रतिशत पुग्यो । त्यति मात्र नभएर तिमीमा उत्तेजना नै पो आउँदैन कि भन्ने अर्को कौतुहल पनि जाग्यो।
त्यसपछि त तिमी झनै इन्ट्रेस्टिङ लाग्न थाल्यौ।
दुई रात सँगै सुतेको अनुभवले तिमीले मेरो कुमारीत्व नलुट्नेमा म लगभग विश्वस्त भइसकेकी थिएँ । त्यसैले तेस्रो शनिबार पनि तिमीलाई मैले कोठामा बोलाएँ । त्यो रात तिमीलाई नङ्ग्याउन मन थियो । तर, यदि नङ्ग्याउँदा नङ्ग्याउँदै तिमी ब्युँझियौ भने ? त्यही डरले मैले केहि गर्न सकिनँ।
भोलिपल्ट हामी पार्कतिर घुम्दाघुम्दै तिमीले अस्वाभाविक अफर गर्यौि- 'अनामिका, जाम् हिँड हुराइट (पिठोमा दलेर फ्राइ गरेको चिकन) र बियर पिउन।'
यादै होला, तिम्रो अफर सुनेर म तर्सिएकी थिएँ । मलाई बियर पिलाउन खोज्ने भनेर तिमीसँग झगडा पनि गरिटोपलेकी थिएँ । तिमीले आफू मात्र पिउने शर्तमा मलाई फकायौ । त्यसपछि हामी पसलमा गएर हुराइट खान थाल्यौं।
तिमीले एक गिलास बियर मगाएर मतिर लम्काएर उट्घाटन गर्न खूब बिन्ती चढायौ । मैले तिम्रो बिन्ती लत्याउन नसकेर मुख बिगारीबिगारी एक सुरूप तानेकी थिएँ।
खासमा भन्नुपर्दा नि विवश, म बियर पिउथेँ । तिमीले त्यतिबेला बियर पिएको हेर्न नसकेर भरे तिम्रो गिलासै खोसेर पिएकी थिएँ । तिमी मलाई हेर्दै मुस्कुराएका पनि त थियौ।
तिमीले दोस्रो गिलास बियर मगाएपछि पनि मैले तिम्रो गिलास खोसेर पिएँ नि । त्यतिखेर भने तिम्ले खोसेका थियौ।
एउटा कुरा भनूँ विवश ? खासमा तिमीलाई उत्तेजना हुन्छ कि हुँदैन भनेर म जान्न चाहान्थेँ । जसको लागि मसँग आँट थिएन । तिम्रो बियर खोसेर खाँदै भए पनि आफूमा आँट भर्न चाहन्थेँ, साथै तिम्लाई खेलाई-खेलाई उत्तेजित बनाउन पनि।
विवश, हामीले हुराइट खाइसकेपछि जब तिमीले खल्तीबाट चुरोट निकालेर सल्कायौ र चुरोटको प्याकेट फेरि राख्यौ, त्यतिखेरै मैले निकै अगाडिदेखि पर्खिराखेको मौका छोपेँ । सायद त्यही नै एउटा मौका थियो, मेरो मनको कौतुहल मेटाउने । नियतवश नै तिम्ले खल्तीमा राखेको चुरोटको बट्टा खोस्नलाई तिम्रो गोजीमा हात हालेँ । गोजीमा तिम्रो चुरोटको बट्टा समात्नुभन्दा पहिल्यै मेरो हातले तिम्रो उत्तेजित लिङ्ग पक्रन पुग्यो । आत्तिएर मैले हात बाहिर निकालेँ र लाजले घोसेमुन्टो लगाएँ।
खासमा म आत्तिएकी थिइनँ, लजाएकी जरूर थिएँ । जिन्दगीमै पहिलोपटक पुरूष यौनाङ्गको त्यति नजिकबाट महसुस गरेकी थिएँ । सरम नलाग्ने कुरै भएन नि!
धन्न तिमीले थाहा नपाए जस्तो गरेर टारिदियौ ! तिम्रो लिङ्गमा हात पुगेपछि भने तिमीमा पनि उत्तेजना आउने कुरामा विश्वस्त भएँ।
हामी छोरी मान्छेको एउटा विशेषता हुन्छ, हामी आफूलाई उँचो पार्न व्यवहारले सकेनौ भने आफ्नो अन्तिम अस्त्र 'आँसु' को प्रयोग गर्छौं । हो विवश, त्यतिखेर म लाज पचाउन नसकेर रोएकी हुँ । तिमी पनि हल्का मातेका थियौ । जिब्रो लरबराउँदै प्रश्न गेका थियौ- 'के भयो अनु?'
मैले आफूलाई सहज बनाउने मौका यतिखेरै हो भन्ने सोचेर तिम्रो हातमा पुत्ताउँदै गरेको चुरोटको ठुटो देखाउँदै रून्चे स्वरमा भनेकी थिएँ- 'चुरोट नपिउनु न!'
खासमा भन्नुपर्दा मलाई तिम्ले चुरोट पिउनु र नपिउनुमा कुनै सरोकार थिएन । मेरो कुराको बेवास्ता गरेको भए पनि मैले केही भन्ने थिइनँ । खासमा मलाई सरोकार भएको भए गोजीमा हात घुसार्ने होइन, तिम्रो हातको ठुटो फालिदिन्थेँ । तर, तिमीले त मेरो एक रिक्वेस्टमै हातको ठुटो मात्र हैन, गोजीको बट्टै समेत निकालेर फालिदियौ । अनि कान समाउँदै भन्न थाल्यौ 'अबदेखि कहिल्यै चुरोट पिउँदिनँ।'
थाहा छ विवश ? त्यसपछि त तिमी मेरो वर्षौं पुरानो प्रेमी जस्तो पो लाग्यौ । यति छोटो समयमा तिमीले गरेका हर क्रियाकलाप प्रेमीको भन्दा कति पनि कम छैन।
विवश, मैले संसारमा तिमी जस्तो पुरूष अरू देखेको छैन । तिमी संसारको एक मात्र पुरूष हौ । नारीको अस्मिता मात्र लुट्नु पुरूषको विशेषता होइन रहेछ । नारीको अस्मिता जोगाउन सक्ने चाहिँ वास्तवमा असली पुरूष रहेछ।
तिमी एउटै बेडमा सुतेर पनि सँगै सुतेकी नारीसँग संसर्ग गर्न नसक्ने नामर्द होइन, एउटी नारीलाई पवित्र राख्न सँगै सुतेर पनि नारीको अस्मिता जोगाउने एकमात्र मर्द हौ । आफ्नो उत्तेजनालाई काबुमा राख्न सक्ने मान्छे संसारकै इमान्दार लाग्छ मलाई ।
तिमीले मेरो अभिभावकको भूमिका निर्वाह गर्यौा । तिमी मेरो अभिभावक नै हौ । त्यसैले म तिमीलाई माया गर्छु । अब तिमीले मेरो जिन्दगीको अभिभावकत्व निर्वाह गर्नुपर्छ । स्विकार्छौ?
अन्त्यमा
विवश, तिमीले मलाई प्रेम नगर्न पनि पाउँछौ । तर, मलाई थाहा छ तिमीले मलाई नकार्ने छैनौ । बाँकी तिम्रो विचार।
उही तिम्री अनामिका।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।