काठमाडौं- काठमाडौं उपत्यकामा श्रृखंलाबद्ध चोरी गर्ने ४ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले बुधबार ४ चोरलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डोटीको जोराइन गाउँपालिका–४ घर भई काठमाडौं बल्खु बस्ने ४४ वर्षीय धनबहादुर थापा, सोही ठाउँ स्थायी घर भई कीर्तिपुर बस्ने २१ वर्षीय रामबहादुर थापा, मकवानपुरको टिस्टुङ पालुङ गाउँपालिका–९ घर भई कलंकी खसीबजार बस्ने १९ वर्षीयजीवन तामाङ स्याङ्तान र झापाको दमक नगरपालिका–९ घर भई कीर्तिपुर बस्ने ३२ वर्षीय रवीन्द्र अधिकारी छन्।
उनीहरु विगत केही महिनादेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा श्रृंखलाबद्धरुपमा चोरी गर्दै आएका थिए।

सुनचाँदीका गरगहना, ल्यापट, मोबाइल र जगद उनीहरुले चोरी गर्दै आएको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुको कोठाबाट १६ तोला सुनका गरगहना, ५० ताला चाँदी, ल्यापट, विभिन्न देशका मुद्रा बरामद गरेको छ।
यसैगरी चोरी गर्न प्रयोग गरिने खुकुरी, हम्मर, रड, पेन्चिस, रेन्चीसमेत बरामद भएको छ।
पक्राउ परेका ४ जना विरुद्ध जिल्ला अदालत ललितपुरबाट चोरी मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।