काठमाडौं– पुरस्कार कतिपयको लागि ऊर्जा र जिम्मेवारीबोधको सिँढी बन्छ भने कसैका लागि भ्रम। धेरै लेखक–साहित्यकारले ठूला भनिएका पुरस्कार बहिष्कार गरेका घटना पढ्न/सुन्न पाइन्छ। साहित्यकार सरुभक्तले जीवनमा दुइटा पुरस्कार बहिष्कार गरे, राष्ट्रिय स्तरको।
संयोग पनि कस्तो, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले गरेको राष्ट्रिय नाटक प्रतियोगिताको पुरस्कार बहिष्कार गरेका उनै सरुभक्त अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिको कुर्सीमा छन्। उनमा कुनै पश्चात्ताप वा हीनताबोध छैन, बरु भन्छन्, ‘पक्कै पनि त्यो युवा जोसको एउटा आवेगपूर्ण निर्णय थियो, तर मलाई पछुतो छैन।’
क्याम्पसको कक्षाकोठा होस् या चियापसल, उनी नाट्य–चिन्तनमै घोत्लिइरहन्थे। उनीसँगै चियागफमा साथ दिनेहरू थिए– अर्जुनजंग शाही, तीर्थ श्रेष्ठ, उषा शेरचन, प्रकट पगेनी लगायत।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा पढ्दा उनको ध्यान पढाइमा कम नाटक–साहित्यमा बढी थियो। एसएलसी सकेर साइन्स पढ्न त थाले, तर मन पुग्थ्यो घरी सेती बगरतिर, घरी माछापुच्छ्रेको चुलीतिर। कक्षा ‘बंक’ गर्नु उनका लागि सामान्य थियो, परीक्षा हलबाट समेत भागेर छोरा बरालिइरहेको थाहा पाएपछि बाआमाले राजधानी पठाउने निर्णय गरे।
करकापमा राजधानीको अमृत साइन्स कलेज छिरे पनि उनी दुई सेमेस्टरपछि टिक्न सकेनन्। त्यतिबेलै महसुस गरे– यो मेरो रुचिको विषय होइन।
बीचमै पढाइ हापे र, पोखरा नै फर्किए। जहाँ उनमा साहित्यको रमरम रस बसेको थियो, त्यहीँ फर्किएपछि उनको सिर्जनाले मौलाउने अवसर पायो।
२०३५ सालमा युवा नाटक परिवार (युनाप) स्थापनापछि उनको सक्रियता बढ्यो। उनी नाटक लेख्थे, आफैं निर्देशन गर्थे र मञ्चन गर्थे। अघिल्लो वर्ष मात्रै पोखरेली युवा सांस्कृतिक परिवार जन्मिसकेको थियो। कला–साहित्यका यस्ता संस्थाले उनको रुचिमा थप मलजल गर्यो।
युनापबाट नै दुई–चार नाटक मञ्चन गरिसकेको थियो उनको टिमले। ‘एउटा घरको कथा होइन’ नाटकलाई पोखरा र तानसेनका गाउँगाउँमा मञ्चन गराउँदै हिँडेको रहरिला दिनहरू सम्झिँदा उनी नोस्टाल्जिक बन्न पुग्छन्।
‘युद्धः उही ग्यास च्याम्बरभित्र’ नाटकको रिहर्सल जारी थियो। यही बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय नाटक महोत्सवबारे सूचना आइपुग्यो। युनापले पनि भाग लिने निर्णय गर्यो। उनी टिमसहित काठमाडौं जाने तयारीमा लागे।
गाउँको सामान्य साँघुरो मञ्चमा नाटक गरिरहेका कलाकारहरुमा हुटहुटी थियो– राष्ट्रिय स्तरको ठूलो प्रेक्षालयमा आफ्नो कला प्रस्तुत गर्ने। उनी २०/२२ जनाको टोली लिएर काठमाडौं हिँडे।
प्रतिष्ठानले त्यस बेला नाटकको प्रतियोगिता गराउँथ्यो र विभिन्न विधामा पुरस्कार बाँड्थ्यो। सरुभक्तको भाषामा युनापले पनि ‘बेजोड रूपमा’ नाटक प्रदर्शन गर्यो।
‘म पोखराको सानो रंगमञ्चमा खेलिराखेको थिएँ। यहाँको ठूलो रंगमञ्चले लोभ्यायो,’ उनी सम्झिन्छन्, ‘हल हाउसफुल थियो। प्रतियोगी अन्य समूहभन्दा युनापको प्रस्तुत मन पराउने दर्शक धेरै थिए। सबैमा आशा थियो– हाम्रै नाटक प्रथम हुनेछ।’
सरुभक्तको यो दोस्रो प्रयास थियो। त्यसो त अघिल्लो वर्ष मात्रै उनी एकेडेमीको स्टेज चढिसकेका थिए।

‘०३५ को राष्ट्रिय कविता महोत्सवमा म तेस्रो भइसकेको थिएँ, जुन मेरो जीवनकै पहिलो प्रतियोगिता थियो,’ उनी भन्छन्, ‘त्यो अनुभवले पनि नाटक मञ्चनको वातावरण सहज बनाउन थप साहस जुट्यो।’
झन्डै साढे दुई घन्टाको समयावधि रहेको नाटकको लेखक, निर्देशक र कलाकार पनि थिए उनी।
नाटक सकियो। ठूलो डफ्फा लिएर सरुभक्त पोखरा फर्किए। प्रतियोगिताको नतिजाका लागि झन्डै दुई हप्ता कुर्नुपर्यो। ढिलो गरी नतिजा त आयो तर युनापको पक्षमा परेन। धेरै मिहिनेतका साथ प्रस्तुत गरिएको अनि दर्शकको गडगडाहट ताली पाएको नाटक उत्कृष्टको सूचीमा नचढेपछि कलाकारहरु खिन्न भए। तर, सरुभक्तले भने दुइटा व्यक्तिगत पुरस्कार पाए, ‘सर्वश्रेष्ठ निर्देशक’ र अभिनयमा ‘प्रशंसा पुरस्कार’। आफू पुरस्कृत भए पनि सहकर्मीहरुको अँध्यारो अनुहारसामु उनले खुलेर खुसी व्यक्त गर्न सकेनन्।
‘हामी सबैले हेरेका थियौं, जुन नाटकलाई सर्वश्रेष्ठ भनियो, त्यो रद्दी टाइपको थियो,’ त्यसबेला दुविधामा रहेका उनले सुनाए, ‘सबै साथीहरुले मिहिनेत गरेको सिंगो नाटक पुरस्कृत नभएपछि मैले मात्रै पुरस्कार लिनु साथीहरुका लागि थप मन दुखाउनु जस्तो लाग्यो र, पुरस्कार बहिष्कार गर्ने निर्णय लिएँ।’
त्यसबेला प्रतिष्ठानका कुलपति थिए सूर्यविक्रम ज्ञवाली। विजय मल्लचाहिँ सदस्य–सचिव। निर्णायकहरुमा आफूभन्दा अग्रज र कला–साहित्य बुझेकाहरु भए पनि निर्णयप्रति सन्तुष्ट हुने ठाउँ नै देखेनन् सरुभक्तले। आफ्ना कलाकार सहकर्मीहरुलाई थाहै नदिई सदस्य–सचिव विजय मल्लको नाममा पुरस्कार बहिस्कारको पत्र काठमाडौं पठाए।
दुई–चार महिनासम्म पनि प्रतिष्ठानबाट कुनै प्रतिक्रिया पाएनन्। त्यसपछि उनी अर्कै कामले काठमाडौं आए। पुरस्कार बहिष्कार गरे पनि प्रतिष्ठानप्रतिको मोह उनमा छँदै थियो। केही नसोची सरासर प्रतिष्ठानतिर गए।
‘विजय दाइ (मल्ल) सँग भेट भयो। उहाँले पुरस्कार जस्तो महत्वपूर्ण चिज बहिष्कार नगरेको भए हुने भनेर सम्झाउनुभयो,’ सरुभक्तले सम्झिए, ‘अब लिए पनि हुन्छ भनेर पटकपटक आग्रह गर्नुभयो तर मैले भनेँ– दाइ, यो मेरो व्यक्तिगत होइन, सामूहिक निर्णय हो। म एकेडेमी र दाइलाई माया मार्दिनँ, तर पुरस्कार लिन सक्दिनँ।’
अहिले पनि यो घटनालाई उनी ‘बुद्धिमतापूर्वक गरिएको सही निर्णय’ दाबी गर्छन्। आइए पढ्दै गरेको युवा विद्यार्थीको आवेगले जन्माएको निर्णय थियो त्यो। यसअघि कविता महोत्सवमा तेस्रो हुँदासमेत पुरस्कार लिइसकेका उनले किन यस्तो निर्णय लिए त?
‘आवेगमा पोखिएको असन्तुष्टि भनूँ यसलाई,’ उनी सहजै भन्छन्, ‘कविताको तेस्रो पुरस्कार लिँदा केके न पाए जस्तो भएको थियो। तर, आफैंलाई दिइएको उत्कृष्ट नाटक निर्देशक पुरस्कार अस्वीकार गर्नुपर्यो’, पुरस्कार बहिष्कार गरे पनि प्रतिष्ठान र त्यहाँका प्राज्ञहरुप्रति कुनै अनास्था नरहेको उनी बताउँछन्।
त्यसो त काठमाडौंमा रहँदा उनी फुर्सद हुनासाथ प्रतिष्ठान पुगिरहन्थे। आफूलाई माया गर्ने अग्रजहरुसँग भेटघाट गरिरहन्थे। झन्डै चार दशकअघि प्रतिष्ठानले गराएको प्रतियोगिताको पुरस्कार बहिष्कार गरेका उनी उही प्रतिष्ठानको एक जिम्मेवार पदमा छन् । त्यो बेला एकेडेमीप्रति नै तुष पालेको भए उनी यही अवस्थामा हुने थिए?
‘तुष लिएर एकेडेमी नै छिर्दिनँ भन्ने घमण्ड पलाएको भए भूपी शेरचन, माधव घिमिरे, विजय मल्ल, धुस्वाँ सायमी, ईश्वरबल्लभ जस्ता नेपाली साहित्यलाई लिड गरेका व्यक्तित्वसँग संगत गर्न पाउने थिइनँ,’ कुलपतिको कुर्सीमा एकछिन उनी गम्भीर भए र, भने, ‘कुनै प्राज्ञ देख्नासाथ तर्किएर लुकेर हिँड्थे हूँला, या त एकेडेमीप्रति वितृष्णा बढ्दै जान्थ्यो होला। लाग्छ– अहिले यो हैसियतमा नरहन पनि सक्थेँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।