अन्तिम वर्ष मैले २० हजार माइलको यात्रा गरेँ, जसमध्ये धेरैजसो रेलद्वारा भएको थियो । त्यस वर्षअघि मैले २५ हजार माइल यात्रा गरेँ, आधा समुद्रबाट र आधा रेलबाट । र त्यो वर्षभन्दा पनि अघि मैले दस हजार माइल जति रेलबाट यात्रा गरेँ । मलाई लाग्छ, यदि मैले यो वर्ष र ती वर्ष गरेका सम्पूर्ण भ्रमणहरुलाई जम्मा गरेँ भने म भन्न सक्छु, मैले तीन वर्षको अवधिभित्र ६ हजार माइलको यात्रा गरेको छु र म यो पनि उल्लेख गर्छु, त्यहाँ एउटासम्म पनि दुर्घटना भएन।
केही समयको लागि मैले प्रत्येक बिहान आफैंलाई भने, 'अहिले म त्यहाँसम्म पुगिसकेको छु, र एउटा राम्रो मौका छ, म यो समयमा दुर्घटनामा पर्न सक्नेछु, त्यसैले म चलाखी गरेर एउटा दुर्घटनाको टिकट किन्नेछु । त्यसपछि जहिले म दुर्घटनामा पर्छु, तब नै केही चिज पाउनेछु।'
तर, म त्यस रात एउटा भाँच्चिएको हातसहित ओछ्यानमा गएँ।
केही दिनपछि नै मैले त्यो चोट हराएको अनुभव गरेँ, महिनाको अन्त्यसम्म दुर्घटनाका टिकटहरु खरिद गर्न सुरु गरेँ । मैले आफैंलाई भनेँ, 'यीमध्येको एउटाले अवश्य केही पैसा कमाउनेछ ।'
तर, म भ्रममा थिएँ । मैले कहिल्यै पनि कति पनि पैसा पाइनँ । म प्रत्येक दिन रेलका दुर्घटनाहरु पढ्थेँ- अखबारहरु त्यस्ता समाचारहरुले भरिएका हुन्थे; तर कहिल्यै पनि तिनीहरुले घटनासँग मलाई जोडेनन् । मैले प्रत्यक्ष अनुभव गरेँ, किन म दुर्घटनाका टिकटहरुमा प्रशस्त पैसा खर्च गरिरहेको थिएँ, र यसबाट उपलब्धि भने केही थिएन । मैले सर्वत्र केही व्यक्तिहरुको खोजी गरेँ, जसले यही माध्यमबाट पैसा हजम पारेका थिए । तर, एउटै पनि त्यस्तो व्यक्ति भेटिएन, जो कुनै दुर्घटनामा परेको होस् अथवा त्यसबाट केही उपलब्धि लिएको होस्।
म दुर्घटनाका टिकटहरु किन्नबाट रोकिएँ र यसबारे केही सोधपुछ गरेँ । यसको परिणाम धेरै आश्चर्य पार्ने खालको थियो । 'यात्रा गर्नुमा खतरा थिएन, बरु घरमै बसिरहनुमा थियो।'
मैले पत्ता लगाएँ, ती खबरकागजहरुका अनुसार, एक वर्षभरिका दुर्घटनाहरुमा तीन हजारभन्दा कम जनताले ज्यान गुमाएका थिए । सूची अनुसार, 'एरी' नामको रेलगाडी निकै भयानक थियो । यसले ४६ अथवा २६ लाई मारेको थियो, त्यो चाहिँ म ठीक-ठीकसँग सम्झन्नँ । तर, मलाई थाहा छ, कुनै पनि अरु रेलको भन्दा यो संख्या दुई गुना थियो।
मेरो अगाडिको सोधपुछले जानकारी गरायो, न्यूयोर्क र रोचेस्ठरको बीचमा प्रत्येक दिन एरीलाइनको प्रत्येक बाटोबाट आठ वटा रेल १६ पटक एकसाथ दगुर्थे । र तिनमा ६ हजार मान्छे प्रत्येक दिन आवतजावत गर्दथे । त्यस्ता मानिसहरुको न्यूयोर्क सहरमा करिब दस लाख जतिको संख्या थियो । गजबको कुरा- 'एरी' रेलले ६ महिनामा दस लाख १३ र २३ का बीचमा मान्छेहरु मार्छ; र यति नै समयमा न्यूयोर्कका दस लाख मान्छेमध्येमा १३ हजार चाहिँ आफ्नो ओछ्यानमा नै मर्छन् । म डराएको थिएँ । मेरा रौं ठाडा भए।
'यो भयानक हो !' मैले भनेँ, 'खतरा त रेलबाट यात्रा गर्नुमा छैन, वास्तवमा ती खतरा ओछ्यानमा छन् । म फेरि ओछ्यानमा कहिल्यै सुत्ने छैन ।'
अनुवाद: हरिप्रसाद पौडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।