काठमाडौं– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले अदालतभित्रको निष्पक्षता कायम राख्न आवश्यक रहेको बताएका छन्।
उच्च अदालत बार एशोसिएशन पाटनको २३ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश जोशीले अदालतको निष्पक्षताका कायम राख्दै विश्वास कायम गर्नुपर्ने बताएका हुन्। उनले अदालत उच्च बौद्धिक विचारको मन्थन गर्ने स्थान भएकाले न्यायपालिकाले त्यस्ता विचारलाई प्रोत्साहन गर्नुपर्ने र कानुन व्यवसायीहरु पनि बौद्धिक मन्थन गर्न तयार हुनुपर्ने उनले बताए।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिका पनि प्रजातान्त्रिक संस्था भएकाले न्यायाधीशहरु पनि आलोचनाबाट मुक्त हुन नसक्ने बताए। तर त्यस्तो आलोचना स्वच्छ र रचनात्मक तथा सकारात्मक परिवर्तन गर्नेतर्फ उन्मुख हुनुपर्ने कार्कीको तर्क थियो।
उनले न्यायालयको स्वतन्त्रता कार्यपालिका, व्यवस्थापिका तथा अन्य समूहको कुनै पनि दबाब र प्रभावबाट मुक्त भएर न्याय दिनका लागि दिइएको व्यवस्था भएको भन्दै स्वच्छ न्याय सम्पादनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे।
न्यायाधीश कार्कीले न्यायपालिकालाई जवाफदेही बनाउन नेपाल बार एशोसिएशनको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले नेपाल बारलाई दुई धारको तरबारसँग तुलना गर्दै न्यायपालिकाको स्वतन्त्रतामाथि कार्यपालिका वा व्यवस्थापिकाले हस्तक्षेप गर्न थाले एउटा धार र न्यायपालिकाले स्वतन्त्रताको ढाल बनाएर न्यायाधीशहरुको स्वच्छन्दता र न्यायिक विचलन गर्न थाले अर्को धार न्यायिक क्षेत्रतर्फ सोझिन सक्यो भने मात्रै न्यायपालिका स्वतन्त्र रहन सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।