राजबिराज– माओवादी केन्द्रका नेता मात्रिका यादवले मधेस केन्द्रित दलले वाम गठवन्धनसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन्। मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी सहमतिमा आए संविधान संशोधनका लागि वाम गठवन्धन लिखित प्रतिबद्धता गर्न तयार रहेको उनले बताए।
गठबन्धन र मधेस केन्द्रित दलसँग यसअघि भएको छलफलबारे उनले भने, ‘मैले मिलाएर जाने प्रयास गरेको हुँ। मधेस केन्द्रित दलका नेतासँग दुई चरण छलफल भयो, छलफल सकारात्मक थिए। तर, तेस्रो बैठकमा वहाँहरु आउनै छाड्नु भयो।’
यसैगरी, उनले जनताबाट अनुमोदन भइसकेको पार्टी एकीकरणको मुद्दाबाट कोही भाग्न नमिल्ने बताएका छन्।
प्रेस सेन्टरले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले एमाले–माओवादी गठवन्धन र पार्टी एकताको एजेन्डालाई विस्वास गरेरै जनताले यति धेरै मत दिएको बताए। ‘पार्टी एकताबाट कोही पछि हट्न मिल्दैन,’ उनले भने, ‘यही जनादेश छ, अनुमोदित पनि भयो।’
माओवादी एमालेमा विलय हुन लागेको भन्ने प्रशंगलाई उल्लेख गर्दै यादवले वैचारिक, राजनीतिक र सांगठनिक रुपमा पार्टी एकीकरण हुन लागेको तर्क गरे। नीति, संरचना, पदीय जिम्मेवारी लगायतका विषयलाई मिलाउन केही समय लागे पनि एकता प्रक्रिया टुंगोमा पुगेरै छोड्ने उनले बताए।
‘दुवै अध्यक्ष प्रतिवद्ध हुनुहुन्छ, जिल्ला र गाउँ तहका नेता एकताबाट खुसी छन्,’ उनले भने, ‘जसले अतिरञ्जित कुरा गरिरहेको छ, त्यो एकता विरोधी हो।’
एकता कार्यदलका सदस्य समेत रहेका यादवले दुवै पार्टीबीच सहज रुपमा छलफल अघि बढिरहेको जनाए। उनले भने, ‘हामी दुई पार्टीका मान्छे हौं भन्ने आभास नै भइरहेको छैन, बरु आफ्नै–आफ्नै पार्टीभित्र चैं समस्या छन्।’
एमाले नेताहरुले जनताको बहुदलीय जनवाद छोडेर एकीकरण सम्भव छैन भनिरहेको सन्दर्भमा माओवादीहरु माओवाद छोड्न तयार छन्? भन्ने प्रश्नमा नेता यादवले भने, ‘यो छलफलको विषय हो। समय लाग्छ तर यो विषय पनि टुंगोमा पुग्छ।’
माओवादीभित्र पनि माओवाद मान्दिनौं भन्ने शक्तिलाई माहाधिवेशनबाट टुंगोमा पु¥याइएको प्रस्टाउँदै नेतृत्व प्रतिवद्ध भएकाले अरु विषय सहमतिमै टुंगो लाग्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।