काठमाडौं– चलचित्र पत्रकार संघ नेपालले पोखरामा तीन दिने बृहत चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ। हालै बसेको संघको केन्द्रिय समितिको बैठकले चलचित्र विकास बोर्डसँगको सहकार्यमा आउँदो भदौ १८, १९ र २० गते कार्यशाला गर्ने निर्णय गरेको हो।
चलचित्र पत्रकारहरु क्षमता अभिवृद्धिका लागि कार्यशाला गर्न लागिएको संघका अध्यक्ष सन्दिप सापकोटाले बताए। ‘अहिले चलचित्र पत्रकारिताप्रति धेरैको आकर्षण बढेको छ तर सँगसँगै समस्या पनि देखिएको छ,’ संघका अध्यक्ष सापकोटाले भने, ‘पत्रकारिताका आधारभुत मूल्य र मान्यतालाई पनि कतिपयले आत्मासाथ गर्न नसकेको अवस्था छ। फिल्म पत्रकारिता गर्ने कतिपयले त अझै फिल्म के हो, राम्रोसँग नबुझेको देखिन्छ। यो कार्यशालाले उनीहरुको क्षमता र ज्ञानको स्तर बढाउन ठूलो भूमिका खेल्ने हाम्रो अपेक्षा छ।’
कार्यशालामा सहभागी हुन इच्छुक चलचित्र पत्रकारहरुले भदौ १० गतेभित्र संघको कार्यलयमा नाम दर्ता गराइसक्नुपर्ने संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
कार्यशालामा सम्बन्धि विधामा दक्ष प्रशिक्षकहरुले पत्रकार आचारसंहिता तथा मिडिया कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, समाचार भर्सेस गसिप, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडिया लगायतका विधामा प्रशिक्षण दिने बताइएको छ। ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।